गुल्मीको रेसुङ्गा विमानस्थलमा सम्पन्न भयो परीक्षण उडान, दुई-तीन साताभित्रमा नियमित उडान हुने

गुल्मीको रेसुङ्गा विमानस्थलमा सम्पन्न भयो परीक्षण उडान, दुई-तीन साताभित्रमा नियमित उडान हुने

काठमाडौं: गुल्मीको रेसुङ्गा विमानस्थलमा परीक्षण उडान सम्पन्न भएको छ। रेसुङ्गा नगरपालिकासँगको सहकार्यमा तारा एयरको परीक्षण उडान सफलतापूर्वक सम्पन भएको हो।

आज बिहान ११ः१४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको तारा एयरको नाइन एन एएलओ ट्वीनअटर–४०० विमान गुल्मीको रेसुङ्गा नगरपालिका-१० सिमिचौरमा निर्माण भएको रेसुङ्गा विमानस्थलमा १२ बजे अवतरण भएको थियो।

यसअघि पनि २०७५ जेष्ठ २५ गते तारा एयरले नै परीक्षण उडान गरेको थियो।

उक्त विमानलाई तारा एयरका वरिष्ठ चालकद्वय क्याप्टेन सन्तोषकुमार साह र क्याप्टेन सञ्जीव श्रेष्ठले उडाएको तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।

उनका अनुसार विमानमा गुल्मी जिल्लाबाट निर्वाचित सांसद नेपाली कांग्रेसका चन्द्र भण्डारी, एमाले उपमहासचिव प्रदीप ज्ञवाली, प्रदेश सभा सदस्य धनेन्द्रबहादुर कार्की, एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री, रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीलगायत तारा एयर र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरू सवार थिए।

प्रवक्ता बर्तौलाका अनुसार आइतबार परीक्षण उडान सम्पन्न भएसँगै अब नियमित उडानका प्रक्रिया सुरु गरिनेछ। नियमित उडानका लागि भने कम्तीमा दुईदेखि तीन साता लाग्नेछ।

विमानस्थलमा तारा एयरले प्रारम्भमा रेसुङ्गा नगरपालिकासँगको समन्वयमा उडान गर्ने भएको हो।

पुष २४, २०७९ आइतबार १३:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।