नुवाकोटको तारुकामा माघ १ र २ गते २८ हल गोरु जुधाइने
काठमाडौं: नुवाकोटको तारुकामा यस वर्ष २८ हल गोरु जुधाइने भएको छ। तारकेश्वर गाउँपालिका–३ तारुका, चन्दनीस्थित कटहरबोट पाटोमा माघेसङ्क्रान्ति मेलाको अवसरमा जुधाउन २८ हल गोरु दर्ता भएको ‘माघे सङ्क्रान्ति गोरु जुधाइ महोत्सव’ व्यवस्थापन समितिका अध्यक्ष मदन श्रेष्ठले जानकारी दिए।
माघ १ र २ गते गोरु जुधाउन लागिएको छ। यस वर्ष गोरु जुधाइ मेलालाई ‘महोत्सव’का रूपमा सञ्चालन गर्न लागिएको समितिका सचिव अमित अधिकारीले जानकारी दिए।
गोरु जुधाइ प्रतिस्पर्धालाई व्यवस्थित, आकर्षक, रोचक र थप मनोरञ्जनात्मक गतिविधि समेत संलग्न गराइने भएकाले यस वर्ष दुई दिन गोरु जुधाउन लागिएको हो।
“अघिल्ला वर्ष मेलाका रूपमा मनाइने गरिएको भए पनि यो वर्ष महोत्सवका रूपमा दुई दिन मनाउन लागिएको छ”, उनले भने, “गोरुलाई समय निर्धारण नगरी जुधेसम्म जुधाइने छ भने राष्ट्रिय तथा स्थानीय कलाकारमार्फत लोकदोहोरीलगायतका अन्य मनोरञ्जनका गतिविधिसमेत समावेश गराउन लागिएको छ।”
माघे सङ्क्रान्तिको अवसरमा जुधाउन दर्ता भएका गोरुलाई एकले अर्कोसँग (वान भर्सेज वान) प्रतिस्पर्धा गराउन लागिएको छ। प्रतिस्पर्धामा विजेता हुने गोरु, धेरै समयसम्म जुध्ने गोरु, उत्कृष्ट प्रस्तुतिका साथ जुध्ने गोरुलगायतका शीर्षकमा गोरुधनी किसानलाई नगदसहित सम्मान गरिने आयोजकले जनाएको छ।
तत्कालीन बझाङ्गी राजा विक्रमबहादुर सिंहको छोरा जयपृथ्वीबहादुर सिंह नुवाकोटको तारुकास्थित मामाघरमा आएको समयमा विसंं १८८७ मा पहिलोपटक गोरु जुधाएर रमाइलो देखाइएको स्थानीय बुढापाकाले बताउने गरेका छन्। यसअनुसार तारुकाको गोरु जुधाइको इतिहास झण्डै दुई सय वर्ष रहेको छ।
किसानले स्वतःस्फूर्त रूपमा जुधाउँदै आएको गोरुलाई एकीकृत गरेर व्यवस्थित भने विसं २०६२ देखि समितिमार्फत नेतृत्त्व लिइएको हो।
पुष २४, २०७९ आइतबार ११:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।