प्रदेश सरकारको भागबण्डा टुङ्ग्याउन सत्ता साझेदार दलको बैठक बस्दै

प्रदेश सरकारको भागबण्डा टुङ्ग्याउन सत्ता साझेदार दलको बैठक बस्दै
फाइल तस्बिर

काठमाडौं: प्रदेश सरकारको भागबण्डा टुङ्गो लगाउन सत्ता साझेदार दलहरूको बैठक आज बस्दैछ। बैठकको मुख्य अजेण्डा प्रदेश सरकार गठनमा भागबण्डा मिलाउनु भए पनि पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले लिने विश्वासको मतको विषयमा पनि छलफल हुने बताइएको छ।

शनिबार सत्ता साझेदार दलको कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रम शीर्ष नेतालाई बुझाउने बेला पनि यसबारे सामान्य छलफल भएको र आज विषय टुङ्ग्याउने गरी छलफल हुन लागेको हो। सबै प्रदेशको भागबण्डा आजै तय गर्ने दलहरूको तयारी छ।

विशेषतः प्रदेश १ मा आइतबारै सरकार गठन गर्नुपर्ने बाध्यता छ। आज साँझ ५ बजे प्रदेश १ का प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा दावी गर्न दलहरूलाई दिएको समयसीमा सकिँदैछ।

यद्यपि यो प्रदेशमा एमालेबाट हिक्मत कार्कीले सरकारको नेतृत्त्व गर्ने करिबकरिब तय भइसकेको छ।

यता मधेश प्रदेशमा भने सिके राउत नेतृत्त्वको जनमत पार्टी र जनता समाजवादी पार्टीको दावी छ। यहाँ २८ गतेसम्ममा मुख्यमन्त्रीको दावी पेश गर्न प्रदेश प्रमुखबाट आह्वान भएको छ।

यस्तै गण्डकी प्रदेशमा पनि एमालेको दावी बलियो छ। सोमबार गण्डकीमा सरकारको नेतृत्त्वको दावी गर्ने अन्तिम म्याद हो।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रले सरकारको नेतृत्त्व गर्ने तयारी छ। यी दुई प्रदेशमा २७ गतेसम्म सरकार गठन गर्नुपर्ने म्याद रहेको छ।

लुम्बिनी र बागमती प्रदेशमा भने एमाले-माओवादीको बराबर दावी छ। बागमतीमा राप्रपाले पनि सरकारको नेतृत्त्व चाहेको छ। बागमतीमा सरकारको नेतृत्त्वको दावी गर्ने समयसीमा भोलिसम्मको छ।

लुम्बिनीमा २७ गतेसम्म सरकारको नेतृत्त्वको दावी पेश गर्न आह्वान गरिएको छ।

पुष २४, २०७९ आइतबार १०:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।