नारायणगढ–मुग्लिङ सडक दुई दिन दिउँसो पनि खुला हुने, निर्माण काम स्थगन गरिने
काठमाडौं: हिन्दूहरूको पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे सङ्क्रान्ति मेलालाई लक्षित गरी नारायणगढ–मुग्लिङ सडक दुई दिन दिउँसो पनि खुला रहने भएको छ। यही पुस ३० र आगामी माघ १ गते दुई दिन दिउँसोको समयमा पनि सडक खुला गर्न लागिएको हो।
प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार ती दुई दिन दिउँसोको चार घण्टा सडक रोकेर गरिँदै आएको निर्माण काम स्थगन गरिने छ। तीर्थालुको चाप बढी हुने भएकाले सडक खुला राख्न लागिएको उनले जानकारी दिए।
अहिले सो सडकखण्डमा बिहान ११ देखि दिउँसो ३ बजेसम्म सवारी रोकेर पुल निर्माणका लागि भित्तो काट्ने काम भइरहेको छ।
देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारीका अनुसार देवघाटमा स्नान गर्न पाँच लाखभन्दा बढी भक्तजन आउने अपेक्षा गरिएको छ। गएका वर्षहरूमा कोभिडका कारण आउन नपाएकाहरू समेत यस वर्ष आउने अनुमानका साथ तयारी गरिएको उनले बताए।
देवघाटबाट त्रिशूली वारपार गर्ने झोलुङ्गे पुलको मर्मत गरिसकिएको छ। वेणीमा वारपार गर्न २२ वटा र्याफ्टिङको व्यवस्था गरिएको छ।
दासढुङ्गामा पक्की पुल भएकाले देवघाटको वेणीमा स्नान र दर्शन गर्न चाहनेलाई सोही पुल प्रयोग गर्न आह्वान गरिएको छ। यसका कारण झोलुङ्गे पुल र डुङ्गाको चाप घट्ने अनुमान छ।
समितिले एक सय ५१ सदस्यीय मूल समिति र उपसमिति निर्माण गरेर काम गरिरहेको छ। मुख्यरूपमा स्नान गर्न आउनेहरू पानीमा डुब्न सक्ने भएकाले नेपाली सेना, नेपाल प्रहरी र क्षेत्र विकास समितिले तयार गरेका उद्धार टोली तयारी अवस्थामा राखिँदै छ। विद्युत्, खानेपानी, यातायात, पार्किङ, शौचालयलगायतलाई व्यवस्थित गर्न विभिन्न उपसमिति बनेका छन्।
सवारीको अत्यधिक चाप हुने भएकाले पुस ३० गते बेलुकादेखि माघ १ गते बेलुकासम्म देवघाट आवतजावतका लागि एकतर्फी बाटो तय गरिएको छ।
देवघाट जानेहरूले रामनगर हुँदै जानुपर्ने छ भने फर्किँदा आँपटारीको बाटो प्रयोग गर्नुपर्ने छ। दासढुङ्गाको पुलतर्फबाट भने जाने आउने दुवै सुविधा रहने छ।
पुस मसान्तको बिहान त्रिवेणीमा बाँसको लिङ्गो गाडी पूजा गरेर मकर सङ्क्रान्ति मेलाको शुभारम्भ गरिने छ। मकर मेलामा देवघाटमा स्नान गरेरमा पुण्य प्राप्ति हुने जनविश्वास रहिआएको छ।
पुष २४, २०७९ आइतबार ०९:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।