फराकिलो अन्तरले खेल जित्दै भारतले कब्जा गर्यो श्रीलङ्काविरुद्धको शृङ्खला
काठमाडौं: गए राति सम्पन्न भारत र श्रीलङ्काबीचको टी ट्वेन्टी शृङ्खलाको अन्तिम खेल भारतले जितेको छ। निर्णायक खेलमा भारतले ९१ रनको फराकिलो अन्तरले जित हात पार्दै शृङ्खला कब्जा गरेको हो।
शृङ्खला भारतले २-१ ले जित्यो। योसँगै भारतले श्रीलङ्काविरुद्धको लगातार ५ घरेलु शृङ्खलामा विजयी भएको छ।
राजकोटको रङ्गशालामा भएको खेलमा भारतले पहिले ब्याटिङ गर्दै २२८ रन बनायो। जवाफी ब्याटिङमा उत्रिएको श्रीलङ्का १६ ओभर चार बलमै १३७ रनमै अलआउट भयो।
भारतको जितमा टी ट्वेन्टी फर्म्याटका विस्फोटक ब्याट्सम्यान सूर्यकुमार यादव नायक सावित भए। उनले ५१ बलमा अविजित ११२ रन बनाए। यस्तै शुभमन गिलले ४६ तथा राहुल त्रिपाठीले ३५ रन बनाए।
बलिङतर्फ श्रीलङ्काका दिलशान मदुशङ्काले २ विकेट लिए। कसुन रजिथा, चमिका करुणारत्ने र वनिन्दु हसरङ्गाले एक-एक विकेट लिए।
ब्याटिङतर्फ श्रीलङ्काका कप्तान दसुन शनाका र कुसल मेन्डिसले २३-२३ रन बनाए। धनन्जया डी सिल्वाले २२ रन बनाए।
बलिङतर्फ भारतका अर्शदीप सिंहले ३ विकेट लिए। हार्दिक पण्ड्या, उमरान मलिक र युजवेन्द्र चहलले २-२ विकेट लिए।
पुष २४, २०७९ आइतबार ०७:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।