पदका लागि सरकार ढाल्न यताउति गर्ने पक्षमा छैन: माधवकुमार नेपाल
काठमाडौं: एकीकृत समाजवादीका अध्यक्ष एवंं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफू पदका लागि सरकार ढाल्ने खेलमा नरहेको बताएका छन्। नेपाल पत्रकार महासङ्घ भक्तपुर जिल्ला शाखाको २६औँ स्थापना दिवसको उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन्।
उनले भने, “पदका लागि गठबन्धन बन्ने र भत्किने कुराको भर्त्सना गर्नुपर्छ, हाम्रो पार्टी राजनीतिक स्थिरताको पक्षमा छ। पदका लागि सरकार ढाल्न यताउति गर्ने पक्षमा छैन।”
उनले जनप्रतिनिधिले इमान्दारिता साथ जनताको सेवा गर्नुपर्ने पनि बताए। उनले राजनीति गर्नेहरूको शिर ठाडो हुनाका लागि जनताको सेवा अनिवार्य रहेको स्पष्ट पारे।
उनले जनताले पत्रकार र पत्रकारिताप्रति ठूलो विश्वास गरेको बताउँदै पत्रकारिताप्रति जनताको विश्वास गुम्न नदिन पत्रकार देश र जनताप्रति पूर्ण जवाफदेही र प्रतिबद्ध हुनुपर्नेमा जोड दिए।
कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष एवं नेपाल पत्रकार महासङ्घ पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले पत्रकारले सतहीमा रहने नभई गहिराइमा गएर सत्य, तथ्य समाचार बाहिर ल्याउनुपर्ने बताए। उनले स्थापना दिवसका अवसरमा पत्रकारलाई पुरस्कृत गर्नुका साथै सांसदहरूलाई सम्मान गरेर प्रशंसनीय कार्य गरेको बताए।
शाखाका अध्यक्ष जगत्कृष्ण प्रजापतिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासङ्घले नगद रु पाँच हजारसहित पत्रकार प्रविणराज जोशीलाई अग्रज पत्रकार सम्मान गरेको छ। त्यसैगरी नगद रु १० हजारसहित स्व भगवान्–राजकुमार महर्जन स्मृति पत्रकारिता पुरस्कार भरतबन्धु थापा, नगद रु दुई हजार पाँच सयसहित स्व मैयादेवी शिल्पकार स्मृति पत्रकारिता पुरस्कार नवीना खबुर्जा श्रेष्ठलाई र समान राशिको क्रियाशील महिला पत्रकारिता पुरस्कारलाई कविता थापालाई सम्मान गरेको छ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्यद्वय दुर्लभ थापा, रमा कोइराला पौडेल, प्रदेश सभा सदस्य किरण थापामगर, सुरेश श्रेष्ठ, डा राजेन्द्रमान श्रेष्ठ, सकुन्तला श्रेष्ठ राजभण्डारी, देवेन्द्र श्रेष्ठ दिवाकर, भुवनकेशरी श्रेष्ठ भावना र धनेश्वरी प्रजापतिलाई पनि सम्मान गरिएको थियो।
पुष २३, २०७९ शनिबार २१:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।