हरिवन-७ मा वडाध्यक्षको मत पुनः गणना गर्न उच्च अदालतको आदेश

हरिवन-७ मा वडाध्यक्षको मत पुनः गणना गर्न उच्च अदालतको आदेश

काठमाडौं: सर्लाहीको हरिवन नगरपालिका–७ मा वडाध्यक्षको मत पुनः गणना गर्न उच्च अदालत जनकपुरले आदेश दिएको छ। हरिवन नगरपालिका–७ का वडा अध्यक्षमा यसअघिको मतगणनालाई रद्द गरी पुनः मतगणना गर्न उच्च अदालत जनकपुरले आदेश दिएको हो।

उच्च अदालत जनकपुरका न्यायाधिशद्वय भोजराज अधिकारी र रेखा थापा (पाण्डे)को संयुक्त इजलासले पुनः मतगणनाका लागि आदेश दिएको उच्च अदालत जनकपुरका रजिष्ट्रार खड्गराज अधिकारीले जानकारी दिए। गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षमा एमालेका नीरध्वज कार्की निर्वाचित भएका थिए।

निर्वाचन अधिकृतको कार्यालयको गणनाअनुसार कार्कीले तीन सय ७९ मत ल्याएका थिए। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका टीकाजङ्ग थापा (अशोक)ले तीन सय ७८ मत प्राप्त गरेका थिए। कांग्रेसका थापाले तत्कालै पुनःमतगणनाको अन्तरिम आदेश जारीको मागसहित रिट दायर गरेका थिए।

वडा अध्यक्षका रूपमा हाल कार्की कार्यरत छन्। पुनः मतगणनाको आदेशपछि अब उच्च अदालतमै मतपत्र झिकाएर गणना गरिने छ।

पुष २३, २०७९ शनिबार २१:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।