सङ्कटाले जित्यो २२औँ आहा रारा पोखरा गोल्डकपको उपाधि

सङ्कटाले जित्यो २२औँ आहा रारा पोखरा गोल्डकपको उपाधि

पोखरा: पोखरामा सम्पन्न आहा रारा गोल्डकपको २२औँ संस्करणको उपाधि सङ्कटा क्लबले जितेको छ। शनिबार पोखरा रङ्गशालामा भएको फाइनल खेलमा सङ्कटाले अमेरिकी टिम भुटनिज युथ स्पोर्ट्सलाई ३–२ गोलअन्तरले पराजित गरेको हो।

खेलको सुरुमा अग्रता लिएको सङ्कटाले सातौँ मिनेटमा पहिलो गोल गर्न सफल भएको थियो। फाइनल खेलमा सङ्कटाको तर्फबाट सुरजज्यू ठकुरी, मेस्सुके ओलामाउ र सुनिल बलले गोल गरेका थिए।

त्यस्तै प्रतिस्पर्धी टिम भुटनिज युथ स्पोर्टस क्लबका तर्फबाट रेने स्यान्टिलन र विलिस ग्रिफिटले गोल गरे।

खेलमा सङ्कटाका सुरजज्यू ठकुरीले पहिलो गोल गरेका थिए। त्यस्तै, खेलको ३४औँ मिनेटमा खेलाडी मेसुकेको गोल सङ्कटालाई दोस्रो गोलको अग्रता दिलाउन सफल भए।

खेलको ३५औँ मिनेटमा भुटनिज युथका खेलाडी रेने स्यान्टिलनले गोल गर्दै २–१ को अग्रता काम गर्न सफल भए। त्यस्तै भुटनिज युथका खेलाडी थोमस सेकरले पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा गोल गरेर खेल २–२ गोलको बराबरीमा पुर्याएका थिए।

खेल निर्धारित ९० मिनेटसम्म पनि बराबरीमा सकिएपछि अतिरिक्त समय थपिएको थियो। थप गरिएको अतिक्ति समयको ११५ औँ मिनेटमा सङ्कटाका कप्तान सुनिल बलले गोल गर्दै तेस्रो गोलसहित उपाधि चुमाउन सफल भए।

यो जितसँगै आहा रारा गोल्डकपमा सङ्कटाले दोस्रो पटक उपाधि जितेको छ। यसअघि सङ्कटाले २०७७ को आहा रारा गोल्डकपको उपाधि जितेको थियो।

प्रतियोगिता विजेता सङ्कटाले १२ लाख रुपैयाँ र उपविजेता भुटनिजले ६ लाख रुपैयाँ प्राप्त गरेका छन्।

पुष २३, २०७९ शनिबार १७:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।