केपी ओलीले आफ्नो स्वार्थ पूरा गरेपछि प्रचण्डलाई धोका दिन्छन् : पूर्वराजदूत उपाध्याय

केपी ओलीले आफ्नो स्वार्थ पूरा गरेपछि प्रचण्डलाई धोका दिन्छन् : पूर्वराजदूत उपाध्याय

बुटवल: नेपाली कांग्रेसका नेता तथा भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्यायले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो स्वार्थ पूरा गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई धोका दिने दावी गरेका छन्। रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले शनिबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा पूर्वराजदूत उपाध्यायले यस्तो बताएका हुन्।

उनले एमालेले राष्ट्रपति र सभामुख लगायतका महत्त्वपूर्ण पद प्राप्त गर्नका लागि विश्वासको मत दिने र त्यसपछि माओवादीको साथ छोड्ने दावी समेत गरे।

मङ्सिर ४ मा सम्पन्न निर्वाचनले नेपालको पुरानो पार्टी कांग्रेससहित अन्य दलहरू समेत कमजोर बनेको भन्दै समयमा नै सचेत भएर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए। उपाध्यायले दलहरूभित्र रहेको भागबण्डा, गुटबन्दीले नैतिक मूल्य मान्यतामा ह्रास हुँदै गएकाले देशको राजनितिक, आर्थिक र सार्वभौम अवस्था जटिल अवस्थामा पुगेको बताए।

कार्यक्रममा बोल्दै उपाध्यायले चरम “कू“राजनितिक मौलाउँदै गएकाले विरक्त भएर आफूले अहिले सक्रिय राजनीतिबाट विश्राम लिएको समेत बताए।

उनले देशको खलबलिएको स्थितिलाई जोगाउन पुराना दलहरू सच्चिन जरुरी रहेको उल्लेख गर्दै पछिल्लो राजनीतिक घटनाक्रमले दलका नेताहरूले विचारको राजनीतिभन्दा सत्ता स्वार्थमा निहित भएर राजनीति गरेको आरोप लगाए।

नेपालमा गठबन्धन लोकतान्त्रिक मूल्य मान्यताविपरीत भएको उल्लेख गर्दै  पूर्वमन्त्री समेत रहेका उपाध्यायले सशस्त्र जनयुद्धका बेला माओवादीको एउटै मात्र अजेण्डा राजतन्त्र फाल्नु पर्ने भए पनि पछि विदेशी शक्तिहरूले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयतालाई देशमा छिराएर देशमा अस्थिरता ल्याउने काम गरेको बताए।

उनले राजनीतिक दलहरूको दूरदर्शिताको अभावले विदेशी शक्ति केन्द्रहरूले चलखेल गरेको बताउँदै यस्तै अवस्था रहिरहे देश ठूलो सङ्कटमा फस्ने दावी गरे।

प्रचण्डले प्रधानमन्त्री दावी गर्दा अन्य दलहरूले महत्त्वपूर्ण पदमा दावी गर्नु स्वाभाविक रहेको बताउँदै यो सरकारले विश्वासको मत ल्याउने कुरामा उनले शङ्का व्यक्त गरे। कार्यक्रम रिपोर्टर्स क्लब नेपालका लुम्बिनी प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो।

पुष २३, २०७९ शनिबार १७:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।