कांग्रेस संसदीय दलको बैठकले के निर्णय गर्यो ?
काठमाडौं: आज बसेको नेपाली कांग्रेसको संसदीय दलको बैठकले निर्वाचनमा कांग्रेसलाई सबैभन्दा ठूलो दल बनाएकोमा मतदातालाई धन्यवाद दिएको छ। आज पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा कांग्रेस संसदीय दलको प्रथम बैठक बसेको थियो।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकद्वारा जारी विज्ञप्तिअनुसार बैठकले स्थानीय तहको निर्वाचनपछि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा कांग्रेस नेतृत्त्वको निवर्तमान सरकारलाई पनि बधाई तथा धन्यवाद ज्ञापन गरेको छ।
यस्तै प्रतिनिधि सभामा प्रभावकारी र जिम्मेवार भूमिका निभाउँदै जनाताको विश्वास र पार्टीपङ्क्तिको अपेक्षा बमोजिम कार्य गर्न एकताबद्ध ढंगले अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
यसैगरी संसदीय दलको कार्यसमितिलाई पूर्णता दिने प्रक्रिया यथाशीघ्र प्रारम्भ गर्ने पनि आजको बैठकले निर्णय गरेको छ। आज पारित प्रस्तावअनुसार कांग्रेस संसदीय दलको अर्को बैठक यही पुस २६ गते बिहान ९:०० बजे बस्ने छ।
आजको संसदीय दलको बैठकले शोक प्रस्ताव पनि पारित गरेको छ। कांग्रेसका नेता एवं संविधान सभा सदस्य कुलबहादुर आले र पूर्व सांसद सुश्री मैया देवी श्रेष्ठको निधनप्रति शोक व्यक्त गर्दै कांग्रेसले शोक प्रस्ताव पारित गरेको हो।
यस्तै निर्वाचनको क्रममा बाजुरा जिल्ला त्रिवेणी नगरपालिका वडा ७ को मतदान केन्द्रमा प्रहरीको गोलीबाट मृत्यु भएका ने.वि.संघका नेता सञ्जीव ऐडीको मृत्युप्रति पनि शोक व्यक्त गरिएको छ।
पुष २३, २०७९ शनिबार १६:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।