संसद् अधिवेशनमा पार्टी रणनीति तय गर्न कांग्रेस संसदीय दलको बैठक सुरु

संसद् अधिवेशनमा पार्टी रणनीति तय गर्न कांग्रेस संसदीय दलको बैठक सुरु

काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बैठक सुरु भएको हो।

यही पुस २५ गतेदेखि सुरु हुने संसद् अधिवेशनमा पार्टी रणनीति र खेल्नुपर्ने भूमिकाका बारेमा केन्द्रित रहेर बैठकमा छलफल हुनेछ। बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपाध्यक्ष धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायतका पदाधिकारी एवं सङ्घीय संसद्का सांसदहरूको सहभागिता छ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनपछि प्रतिनिधि सभाको अधिवेशन यही पुस २५ देखि सुरु हुँदैछ। निर्वाचनमा कांग्रेसले प्रतिनिधि सभामा ८९ सिट जितेर सबैभन्दा ठूलो दल बने पनि प्रतिपक्षमा बस्नुपर्ने अवस्था छ। 

सङ्घीय ससंद्को तेस्रो ठूलो दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोस्रो ठूलो दल एमालेलगायत सात दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका छन्।

प्रधानमन्त्रीले यही पुस २६ गतेको प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने तय भएको छ।

पुष २३, २०७९ शनिबार १५:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।