श्रीमतीले सम्बन्धविच्छेद चाहेपछि परिवारकाे सातै जनाकाे गाेली हानी हत्या, मारिनेमा पाँच नाबालक सन्तान
एजेन्सीः श्रीमतीले सम्बन्धविच्छेदको निवेदन दिएपछि अमेरिकामा एक ४२ वर्षीय पुरुषले परिवारका सात जनाकाे हत्या गरेका छन्। आफ्ना पाँच छोराछोरी, सासु र श्रीमतीलाई गोली हानेर हत्या गरेपछि अन्त्यमा उनले आत्महत्या गरेका थिए।
अमेरिकाकाे साल्टलेक सिटी र लस भेगासबीचको उटाह प्रान्तकाे सानो सहर एनोकमा यो घटना भएको हाे। प्रहरीले उनीहरूकाे घरबाट ८ जनाकाे शव निकालेकाे छ।
बीबीसीका अनुसार बिमा अभिकर्ताकाे रुपमा काम गर्ने माइकल हैटले श्रीमतीसँगै ७ र ४ वर्षिय दुई छाेरा र ७, १२ र १७ वर्षका तीन जना छाेरीकाे पनि गाेली हानी हत्या गरेका हुन्।
त्यस्तै ७८ वर्षिया सासुकाे पनि हत्या गरेपछि उनले अन्त्यमा आफैंलाई गोली हानेका थिए। श्रीमतीले सम्बन्धविच्छेदको मुद्दा दायर गरेको दुई सातापछि ती व्यक्तिले उनीहरूको हत्या गरेकाे सरकारी अधिकारीहरूले बताएका छन्।
घटनाकाे बारेमा जानकारी दिंदै प्रहरीले बिहीबार भएको पत्रकार सम्मेलनमा घरायसी समस्याका कारण हत्या भएको बताएकाे छ। घटनाको विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ।
नगरका प्रमुख जेफ्री चेस्नटले भने सम्बन्धविच्छेदको निवेदन नै हत्याको कारण भएकाे बताएका छन्।
पुष २२, २०७९ शुक्रबार १७:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।