साप्ताहिक सेयर समीक्षाः यो साता पनि सेयरको ‘बुलिस’ यात्रा कायमै, भविष्यमा के होला ?
काठमाडाैंः गत आइतबार सेयर बजारले अघिल्लो साताको बढोत्तरीलाई निरन्तरता दिएको देखियो। यस दिन नेप्से सूचक १७.२६ अंकले बढेर २०४६.२९ विन्दुमा पुगेको थियो।
त्यस दिन ४ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो भने ५ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको थियो। सूचक २ हजार विन्दुमाथि नै सस्टेन गर्न सफल भएकाले थप बलियो बन्दै गएको अनुमान गरिएको थियो।
तथापि, त्यस दिन विक्रेताहरू पनि उत्तिकै हाबी देखिएका थिए। तर बिक्री पक्षभन्दा खरिद पक्ष निकै बलियाे देखिएकाले सूचक बढेरै बन्द हुन सफल भएको थियो। सूचकसँगै खरिदबिक्री रकममा पनि उत्साह छाएको देखियो।
सोमबार नेप्से सूचक १७.५६ अंकले बढेर २०६३.८३ विन्दुमा आएको थियो। करिब ३ अर्ब ९२ अर्ब ९६ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको थियो र चारवटा कम्पनीमा सकारात्मक सर्किट लागेको थियो।
पुसमा आयकरको किस्ता, बैंक कर्जाको साँवा–ब्याज भुक्तानीको प्रेसरमा आम लगानीकर्ता रहेका हुन्छन्। पुस अन्तिम तेस्रो तथा अन्तिम सातातिर बजार कत्तिको दवाबमा पर्छ, त्यसलाई पनि सुक्ष्म तरिकाले अध्ययन गर्न आवश्यक हुने जानकारहरू बताउँछन्।
यसो हुँदाहुँदै पनि बजारले उकालो लाग्नु भनेको सेयर बजार निकै सकारात्मक बाटोबाट गुज्रिरहेको छ भन्ने हो।
तेस्रो कारोबार दिन अर्थात् गत मंगलवार नेप्से परिसूचक ३.०३ अंकले घटेर २०६१.०६ विन्दुमा अडिएको थियो। नेप्से सूचकले थोरै दबाब खेपे पनि कारोबार रकममा भने वृद्धि भएको थियो।
यस दिन ३ अर्ब ४५ करोड रुपैयाँको सेयर कारोबार भएको थियो। चारवटा कम्पनीमा सकारात्मक सर्किट लागेकाले समग्रमा बजार बलियो नै देखिएको जानकारहरू बताउँछन्।
त्यसो त बजार केही दिनयता २ हजारको लाइनमा घुमिरहेको देखियो। बुधवार नेप्से सूचक ६४.८७ अंकले बढेर २१२५.९४ विन्दुमा पुगेको थियो। विगत लामो समयदेखि एकै दिन यति धेरै अंकले नेप्से बढ्न सकेको थिएन।
३ अर्ब ५० करोड रुपैयाँको सेयर कारोबार भएको यस दिनमा कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको हो। बुधबार झन्डै २ दर्जन कम्पनीमा सकारात्मक सर्किट लागेको थियो।
करिब ५ महिनापछि नेप्से सूचक पुनः २१ सय विन्दुमाथि उक्लिन सफल भएको थियो। यसअघि गत साउन २३ गते नेप्से सूचक २१०६.१५ विन्दुमा बन्द भएको थियो।
त्यसयता बजार निरन्तरजसो घट्दै १८०६ अंकसम्म ओर्लिएको थियो। अहिले क्रमशः बढ्दै ५ महिनापछि बजार फेरि २१ सयमाथि आयो। त्यस दिन २०७ कम्पनीको भाउ बढ्दा जम्मा ५ वटा कम्पनीको मात्र मूल्य घटेको थियाे।
साताको अन्तिम कारोबारको दिन अर्थात् बिहीबार पनि नेप्से परिसूचक १७.९२ अंकले बढेर २१४३.७६ विन्दुमा पुगेर रोकियो। दिनभर नेप्सेले अनेक उतार-चढाव खेपिरहेको थियो।
नेप्सेसँगै यस दिन कारोबार रकममा पनि उल्लेख्य सुधार भएको थियो। यस दिन ५ अर्ब ४ करोड ७ लाख ४० हजार रुपैयाँ बराबरको १ करोड २५ लाख ८१ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
यस दिनको कारोबार रकम करिब ११ महिना यताकै उच्च हो। यसअघि २०७८ फागुन १ गते नेप्सेमा ५ अर्बभन्दा बढीको सेयर कारोबार भएको थियो। यसलाई अर्थविद्हरू सेयर बजारले सकारात्मक गति लिएको मान्दछन्।
अबको साता के होला?
अर्थतन्त्र सुधारका विषयमा प्रधानमन्त्री, अर्थमन्त्री तथा गभर्नर एकै ठाउँमा उभिएको देखिन्छ। उनीहरूले अहिले देखिएका समस्या मिलेर समाधान गर्ने बताएको हुँदा सेयर बजारको अग्रगति अबको साता पनि कायमै रहने देखिन्छ।
यसै सन्दर्भमा गएको बुधबार प्रधानमन्त्री प्रचण्डले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँग एकसाथ छलफल गरेका थिए। बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले बैंकिङ क्षेत्रमा पछिल्लो समय देखिएका समस्या र चुनौतीका विषयमा चासो राखेका थिए।
यस्तै, ब्याजदर घटाउन र तरलता समस्या समाधानका लागि मौद्रिक नीतिमा सुधार लगायत अन्य कदम चाल्न पनि प्रचण्डले निर्देशन दिएको स्रोतले बताउँछ। यता, अर्थमन्त्री, गभर्नर पनि समस्या समाधानका लागि तयार भएका छन्।
चालु पुँजी कर्जा निर्देशिकामा लचकता अपनाउन पनि केन्द्रीय बैंक तयार भएको खबरहरू आइरहनुलाई सकारात्मक मानिएको छ।
यसरी गभर्नर, अर्थमन्त्री तथा प्रधानमन्त्रीबीच समन्वय भइरहेको र उनीहरूले अर्थतन्त्र सुधार्न विशेष पहल गर्ने आश्वासन दिइरहेकाले निजी क्षेत्रसहित सेयर बजारका लगानीकर्ताको आत्मविश्वास बढ्न थालेको बुझिन्छ।
अर्थमन्त्रीले सार्वजनिक रुपमै पुँजी बजार सुधारका लागि काम गर्ने बताइसकेका छन्। अपितु सेयर बजार निकै हदसम्म लगानीकर्ताको मनोविज्ञानमा चल्ने गर्छ।
पछिल्ला दिनहरूमा सकारात्मक खबरहरू आउँदा आम लगानीकर्ताको मनोविज्ञान सकारात्मक हुँदै गएको हो। अबको साता पनि यसले निरन्तरता पाउने विश्लेषकहरूको दावी छ।
पुष २२, २०७९ शुक्रबार १६:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।