हिजाेका कुरामा माया ठकुरीः प्रसिद्ध महिला कथाकार जसले कहिल्यै औपचारिक शिक्षा लिइनन्
निधारमा गोलो रातो टीका, उज्यालो अनुहार, ठिक्कको शरीर, ब्वाइज कट कपालमा चटक्क मिलाएर सारी लगाएकी माया ठकुरीलाई कति वर्षकी हुनुभयाे भनेर प्रश्न गर्दा उनी हाँस्दै भन्छिन्, ‘तीन सालमा जन्मिएको हो हिसाब गर्नुस् न। धेरैले पाँच सालमा जन्मेको भनेर लेख्छन्। जवानीमा भए पो उमेरको ख्याल हुन्थ्यो। अब त जतिसुकै लेखुन् मतलब नै लाग्दैन।’
प्रसिद्ध कथाकार माया ठकुरीलाई नेपालकै अग्रज जीवित महिला कथाकारको रूपमा पनि धेरैले चिन्ने गर्छन्। भारतको लखनउस्थित सैनिक अस्पतालमा पिता गम्भीरसिंह ठकुरी र आमा देवी ठकुरीकाे जेठो सन्तानको रूपमा उनकाे जन्म भयाे।
‘छोरा भयो भने तोप पड्काउँछु’ भनि ठिक्क पारेका बेला माया जन्मदाँ उनका पिताले उनलाई नहेरी छोडेर गएका थिए। उनकी आमासँग विवाह गर्नुभन्दा अघि नै उनका पिताले एकदुई जनासँग विवाह गरिसकेका थिए।
याे विवाहपछि पनि उनले परस्त्रीसँग सम्बन्ध राख्नन् छाडेनन्। जसले गर्दा मायाकी आमाले कहित्यै आफ्नो पतिको आडभरोसा पाइनन्। न त मायाले नै आफ्नो पिताको माया पाइन्।
यसरी जन्मने बित्तिकैदेखि आफ्नै जीवन कथाहरूले भरिएको पुस्तक जस्तो भएपछि मायालाई कथा लेख्न कसैको जीवनलाई उतार्नै परेन। कसैको भोगाइ सुन्नै परेन। आफैंलाई उतार्दा-उतार्दै अहिले उनी नेपालकै प्रसिद्ध कथाकारका रूपमा चिनिन्छिन्।
बिग्रेकी केटी
माया सानै उमेरदेखि पौडी खेल्न जाने गर्थिन्। यति मात्र होइन मरेको मान्छे घाटमा लैजादाँ बाटोमा छरेकाे पैसा पनि उनी टिप्ने गर्थिन्।
किन यस्तो गर्नुहुन्थ्यो भन्दा माया भन्छिन्, ‘यो सबै अभावले सिकायो। अर्काको घरमा भाँडा माझ्दा, अर्काको घरमा तीनको छोराछोरी हेर्दै गर्दा, कोही मरेको मान्छे ल्याए भने म आफ्नो च्यातिएको घाँघर फहराउँदै दौडिने गर्थें। तिनले मलाई लखेट्न खोज्थे, धपाउन खोज्थे। तर म डराउँदिनँ थिएँ। त्यसैले त बिग्रेकी केटी भन्थे नि।’
आमालाई रगतको आहालमा छाड्ने आफ्नो पिताको त्यो रूप सम्झदाँ माया अहिले पनि भावुक हुन्छिन्। उनकी आमाले तीन महिनासम्म न दिन थाहा पाइन न रात। त्यस्तो अवस्थामा पनि उनकी आमाले आफ्ना पतिलाई माया गरिरन्थिन्।
आमाको त्यो रूप देखेकी मायाले घरमा धेरै कुराको प्रतिवाद गर्थिन्। उनी सोच्थिन म आमा जस्तो हुदिनँ। आमाले जस्तो सबैथोक चुपचाप सहेर बस्दिनँ। त्यसैले यस्तो व्यवहार अहिले त नपचाउने हाम्रो समाजले मायालाई बिग्रेकी केटी नाम राखिदिएको थियो।
अर्काको घरमा काम गर्ने मायाले ठूला कपडा धुन नसक्दा खोलामा बगाइ दिने गर्थिन्। एक पटक उनले काम गरेको घरमा आफूले हेर्ने बच्चाहरूको घाँघर राम्रो देखेर आफ्नी बहिनीको लागि चोरेर ल्याएकी थिइन्।
यी सबै घटना उनको जीवनमा आर्थिक अभावले घटेको थियो। जसलाई समाजले अनेक उपनाम दिएर गाली गर्थ्याे।
खान नपाउँने बाल्यकाल
मायाकी आमा अर्काको घरमा चामल केलाउन जाँदा त्यहाँबाट कनिका ल्याउने गर्थिन्। त्यसमा फर्सीको मुन्टा, आलु, मुला सबैथोक एकैठाउँमा हालेर पकाएर उनीहरू सबै परिवार खाने गर्थे। यो बाहेक मायाको बाल्यकालमा पानीरोटीले पनि कैयौं छाक टार्न मद्दत गरेको छ।
यस्तै एक घटना सम्झँदै माया भन्छिन्, ‘म कसैको घरमा बच्चा हेर्न पुगेकी थिएँ। त्यो परिवार धनी थियो। तर घर एकतले मात्रै। भित्र दाल र भात पकाउने र अरू खानेकुरा पकाउने ठाउँ छुट्टाछुट्टै थियो। त्यो परिवारका महिला नुवाएर मात्र खाना पकाउने गर्थे। उनीहरूको घरमा धेरै थोक पाक्ने गर्थ्यो। उनीहरू काँचको थालमा खाना खाने गर्थे।’
माया यो सबैथोक चुपचाप हेरिरहेकी थिइन्। भुईं लोटाउन थालियो। काँचको थालमा भात, खुट्टे कचौरामा तरकारी र पानी मिलाएर राख्नन थालियो। उनी आफ्नो पालो पर्खेर बसेकी थिइन्।
भगवानलाई खाना चडाएर पानीले भुईं शुद्ध पारेपछि कपालमा टालो बेरेका र एक सर्को धोती लगाएका महिलाहरूले आफ्ना श्रीमानलाई खान पस्किएर दिने गर्दथे। तिनले छाडेका भाग ती महिलाहरू खाने गर्थे।
केही गरेर कुनै महिलाका श्रीमानले खानेकुरा थालमा बढी पारेर राखिदिएनन् भने ती महिला त्यो दिन नै अँध्यारो हुन्थ्यो, उनीहरू भाेकै पर्थे। उनलाई सबैले तिम्रो लोग्नेले तिमीलाई माया नै गर्दो रहेनछ भनेर जिस्काउने गर्थे।
यी सबैलाई नियाली रहेकी मायाको पालो अझै आइसकेको थिएन। उनको पालो त्यो घरका केटाकेटी भन्दा पनि पछाडि थियो। त्यतिबेला उनले सबैले खाएर बढी भएकाे खानेकुरा खाने गर्थिन्। जुन खाएर पेट भर्न पाउनु पनि उनको लागि ठूलो कुरा थियो।
खाली कागज त देख्नै हुँदैनथ्यो, उनी लेख्न सुरु गरि हाल्थिन्।
‘बौलाही, बौलाही भन्छ दुनियाँ,
बौलाही त्यो भइ किन कसरी?
बौलाही यदि त्यो साँचै थिइ त,
तिरस्कार तिम्रो किन सही?
हाँसी होली केही क्षण त्यो हृदयको पिर खप्न नसकी
रोइ होली केही क्षण त्यो तिम्रो बालापन देखि,
अनि भन त किन कसरी कहलाही त्यो बहुलाही?’
साहित्यको औपचारिकतामा लेखेको याे कविता मायालाई अझै याद छ। सानोमा पढ्न नपाएकी मायाले चुरोटको पछाडिको खाली सेतो पानामा पनि कविताका टुक्राहरू लेख्ने गर्थिन्।
उनी पत्रपत्रिकाहरू पढ्ने गर्थिन्। जहाँ जे लेखिएको छ त्यही पढ्थिन्। बुझे पनि नबुझे पनि उनी घोरिएर पढ्ने अभ्यास गर्थिन्। यस्तैमा एकपटक मायाले ‘पागल’ भन्ने कथा लेखेर तत्कालीन एउटा हिन्दी पत्रिकामा पठाएकी थिइन्।
तर त्यो कविता नछापिइकन फिर्ता आयाे। जसको अन्तिममा लेखिएको थियो ‘आफ्नो भाषामा साहित्य लेख्न नछाड्नु। तिमी भविष्यमा राम्रो लेखिका हुन्छौं। उनलाई कथा रिजेक्टेड भएको कुराकाे वास्ता नभएर यति लेखिएको वाक्यले धेरै खुशी दिएको थियो।
ती पल सम्झिंदै माया भन्छिन्, ‘अरूले लेखेका कापीमा रहेको स्पेसमा लेख्ने गर्थें। अहिले सम्झिन्छु, हाम्रो जीवनमा आउने खाली पानाहरू कति महत्वपूर्ण हुँदा रहेछन्। मैले ती कापीका खाली पानाहरूमा अक्षर होइन खुशी भर्दै गएकी रहेछु। मलाई त्यो बेला पत्तै थिएन।’
यसरी साहित्यको सुरुवात गरेकी मायाको पहिलो कथा ‘नजुराएको जोडी’ हो। एकपटक मायाले आफू बस्ने नजिकैकाे एक पुरूषले एक महिलामाथि गरेको अत्याचार देखिन्।
ती महिला रातभर रुने गर्थिन्। न उनीले प्रतिवाद गर्थिन् न भाग्न नै सक्थिन्। त्यो सबै मायालाई आफ्नै आमाको भोगाइ दोहोरिएको जस्तो लाग्न थाल्यो।
आमाको उमेर ९ वर्षको हुँदा आफ्ना ३१ वर्षिय पिताले उनीमाथि गरेको अत्याचार सुनिरहेकी, देखेकी मायाको जीवनमा फेरी आमाको घटना दोहोरिनु उनको लागि ‘नजुराएको जोडी’ कथा लेख्न प्रेरित गर्नु थियो।
आफ्ना आमालाई मद्दत गर्ने कोही नभए पनि उनले ती महिलाको भने उद्धार गरेकी थिइन्। यस्तै-यस्तै अनगिन्ती कथाहरूलाई भोगेकी, देखेकी मायाका अहिले ८ भन्दा बढी पुस्तक प्रकाशित भइसकेका छन्।
विद्यालय नै नपढी एसएलसी
आमाले धेरै दुःख गरेर हुर्काएकी र आफैंले पनि हुर्किनको लागि धेरै दुःख गरेकी मायाले कहिल्यै औपचारिक शिक्षा लिइनन्। तर भन्छन् नि, ‘खाने मुखलाई जुगाँले छेक्दैन’ उनको जीवनमा पनि त्यस्तै भयो।
उनले पढ्नको लागि आमालाई मनाएर एक शिक्षककोमा पढ्न जान थालेकी थिइन्। जहाँ उनी बिहानै पुग्ने गर्थिन्। उनीहरूको बेलुकाको झुठो भाडा माझ्ने गर्थिन्। घर सफा गर्दिने गर्थिन्। ती शिक्षक र उनकी श्रीमतीलाई चिया पकाएर दिने गर्थिन्।
ती शिक्षकको छोराछोरी उठेपछि मायाले पनि तिनीहरूको साथमा पढ्न पाउँथिन्। जहाँ उनले दुई वर्ष काम गर्दै पढेपछि एसएलसी दिएकी थिइन्। त्यतिबेला उनलाई आफ्नो रोल नम्बर सम्म लेख्न आउँदैन थियो।
जीवनमा अन्य परीक्षा नदिइ सिधै एसएलसी दिएकी माया भन्छिन्, ‘मलाई त्यो भन्दा अगाडि कुनै परीक्षा दिएको अनुभव थिएन। कहाँ,कसरी लेख्ने सम्म थाहा थिएन। कापीको एकापट्टि मात्रै लेख्दै गए। पछि अरूको हेर्दा पो दुवैपट्टि लेख्नु पर्ने रहेछ भन्ने थाहा भयो। यसपछि फेरी अर्कोपट्टि पनि लेख्दै गए।’
‘मलाई त्यो बेला कमजोर भनेर जिस्काउने थुप्रै थिए। तिनले ‘0’ बनाएर मेरो पछाडी टाँसिदिएका थिए। तर पछि ती फेल भए र म पास। त्यतिबेला एसएलसी पास गर्नु भनेको ठूलो कुरा थियो। मैले सबैमा ३२/३२ र एउटामा भने ३४ नम्बर ल्याएर एसएलसी पास गरेकी थिए।’
प्रेममा परेर विवाह
प्रेम के हो थाहा नै नपाइ प्रेम विवाह गरेकी माया अहिलेसम्म आफ्नो वैवाहिक जीवनसँग खुशी छिन्। उनी प्रेम भनेर प्रेमीसँग कतै घुम्न गइनन्।
मात्र उनले आफूले बिहे गर्ने केटालाई बुझिन्। अन्तर-जातीय बिहे गरेकी मायाको एउटी छोरी छिन्। उनी पनि साहित्यमा नै कलम चलाउँछिन्।
माया भन्छिन्, ‘मलाई उहाँ लेख्ने वातावरण बनाइ दिनुहुन्छ। मेरो कथा अनुवाद गरिदिनु हुन्छ। मैले सानोमा जति प्रेमको अभाव भोगेपनि अहिले म खुशी छु। प्रतिष्ठित छु। सायद जीवन भनेको यही त होला। मेरी छोरी पनि बालसाहित्य लेख्छिन्। उसका पनि दुई सन्तान भैसके।’
जीवनमा जति पीडा आएपनि तिनलाई अवसरका रूपमा लिएकी मायालाई अहिले आफ्ना पितामार्फत् जन्मिएका अन्य छोराछोरी कहाँ होलान्, कस्ता थिए होलान्, तिनको पनि सन्तान भए होला भन्ने ख्याल आउँदा भने नरमाइलो लाग्ने बताउँछिन्।
प्रज्ञामा चार वर्ष बिताउँदा
नेपाल प्रज्ञा-प्रतिष्ठानको आख्यान विभाग प्रमुख समेत रहेर काम गरेकी माया ठकुरी आफू मिटिङमा पुग्दा उक्त पदको लागि सिफारिस गरिएको थाहा पाएको बताउँछिन्। पहिले आफूले यस पदलाई चुनौतीको रूपमा लिए पनि पछि भने यही पदमार्फत् धेरै फाइदा लिएको उनको भनाइ छ।
जिन्दगीमा आफ्नै कथा-व्यथालाई उतारिरहेकी मायाले प्रज्ञा-प्रतिष्ठानमा काम गरेपछि विभिन्न अनुसन्धानात्मक कृतिहरू पढ्ने र तिनमा काम गर्ने अवसर पाइन्। जसले गर्दा आफ्नो अध्ययनको दायरा फराकिलो भएकोमा मायालाई अहिले गर्व लाग्छ।
क्रान्तिकारी विचारधारा बोकेकी माया तपाईं कुन पार्टीपट्टी झुकाव राख्नुहुन्छ भन्दा जवाफ फर्काउन खासै रुचि राख्दिनन्। तर उनी जसले समाज बदल्ने चेष्टा राख्छ, जसले इमान्दारितापूर्वक काम गर्छ त्यस्ता पार्टी मन पर्ने बताउँछिन्।
प्रेम के हो जस्तो लाग्छ भन्दा माया भन्छिन्, ‘प्रेम शाश्वत छ। प्रेम साहित्यको लागि नभइ नहुने तत्त्व हो। प्रेमले साहित्य मात्र नभएर व्यक्तिगत जीवनमा पनि ठूलो भूमिका खेलेको हुन्छ।’
साहित्यकारले आफ्नो प्रेम किन लुकाउँछन् नि? उनी थप्छिन्, ‘अन्य पेशामा लागेको मानिसको जस्तै साहित्यिक मान्छेको पनि दुईवटा चरित्र हुन्छ। एक उनीहरूको लेखन अर्को उनीहरूको व्यक्तिगत जीवन, त्यसैले होला।’
कथाकारिता सँगै गीतहरू पनि गुन्गुनाइ रहन मन पराउने माया सानोमा भाँडा माझ्दा होस् वा कुचो लगाउँदा नै किन नहोस् गीत पनि गाउने गर्थिन्। हामीसँग छुट्टिने समयमा पनि उनी ‘जन्मेको ठाउँलाई, नेपाली गाउँलाई नेपालीले माया मार्यो बरी लै’ गीत गुन्गुनाइ रहेकी थिइन्।
पुष २२, २०७९ शुक्रबार १३:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।