रवि लामिछानेको मुद्दामा पहिलो रिटको सुनुवाइ सकियो, दोस्रोको जारी
काठमाडौं : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादको विषयमा परेका दुईमध्ये एक रिटको सुनुवाइ सकिएको छ।
अधिवक्ता रबिराज बसौलाले दायर गरेको रिटमा सुनुवाइ सकिएको हो। उक्त सुनुवाइ सकिएसँगै इजलासमा युवराज पौडेलले दायर गरेको दोस्रो रिटको सुनुवाइ भइरहेको छ।
कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासमा पहिलो नम्बरमै उक्त मुद्दाको पेशी तोकिएको थियो।
संवैधानिक इजलासले यही पुस ६ गते सुनुवाइ गर्दै अन्तरिम आदेश दिने वा नदिने विषयमा दुवै पक्षको छलफल आजका लागि राख्ने निर्णय गरेको थियो।
आज अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा बहस भइरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेको प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदको योग्यताबारे प्रश्न उठाउँदै दुई वटा रिट निवेदन दायर भएको थियो।
नेपाली नागरिकता नलिई राजनीतिक दल खोलेको, प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरी सांसद बनेको उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेको सांसद् पद खारेजको माग रिट निवेदनमा छ।
सर्वोच्च अदालतले रिटमा मागदाबी गरिएअनुसार अन्तरिम आदेश जारी गरेमा लामिछाने सांसद र मन्त्री हुन पाउने छैनन्। अन्तरिम आदेश जारी नभएको अवस्थामा भने उनको पद यथावत् रहने छ।
लामिछानेको नागरिकता र राहदानीको विषयमा सबैभन्दा पहिला उकेराले समाचार प्रकाशन गरेको थियो।
पुष २२, २०७९ शुक्रबार १३:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।