पूर्ण समानुपातिक स्ववियु निर्वाचन गर्न प्रधानमन्त्रीसँग अनेरास्ववियुको माग
काठमाडौं : एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष स्ववियु निर्वाचन पूर्ण समानुपातिक प्रणालीमा गर्न माग गरेको छ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा अनेरास्ववियू अध्यक्ष सुदेश पराजुलीको नेतृत्त्वको टोलीले प्रधानमन्त्री दाहालसमक्ष यस्तो माग राख्दै ज्ञापनपत्र पेश गरेको हो।
त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहालसमक्ष स्ववियु निर्वाचन प्रणाली खर्चिलो भएकोले सबै विद्यार्थीको प्रतिनिधित्वका लागि निर्वाचन प्रणाली पूर्ण समानुपातिक हुनुपर्नेमा जोड दिए।
नियमित स्ववियु निर्वाचन नहुँदा विश्वविद्यालयमा प्रशासनको मनोमानी व्याप्त रहेको, विसंगति, भ्रष्टाचार र अनियमितता बढेको, गुणस्तरीय पढाइ नभएको, शैक्षिक क्यालेन्डर, पाठ्यक्रम र परीक्षा प्रणाली अव्यवस्थित भएको टोलीले प्रधानमन्त्रीलाई अवगत गरायो।
ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री दाहालले समानुपातिक स्ववियु निर्वाचनको सन्दर्भमा सरोकारवाला निकायसँग छलफल गरी आवश्यक निर्णय गर्ने बताए।
पुष २२, २०७९ शुक्रबार १२:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।