नेपाल टी-२० : ग्रिफिफ्थकाे विस्फाेटक ब्याटिङले जनकपुर विजयी, लुम्बिनीको दोस्रो हार
काठमाडौं : नेपाल टी–२० लिगअन्तरगत शुक्रबारको पहिलो खेलमा जनकरपुर रोयल्सले लुम्बिनी अलस्टार्सलाई २३ रनले पराजित गरेको छ।
१७ ओभरमा छोट्याइएको खेलमा १६० रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले ७ विकेट गुमाएर १३६ रन मात्र बनाउन सक्यो।
लुम्बिनीका लागि यो दोस्रो हार हो। यसअघि लुम्बिनी पोखरा एभेन्जर्ससँग ९ विकेटले हारेको थियो।
उसका लागि अनिल शाहले ३५, लाहिरु मिलान्थाले ३२, सुनिल धमलाले २७ र गुल्सन झाले १० रन बनाउनबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
जनकपुरका ट्रेभोन ग्रिफिप्थले तीन, समीउल्लाह शिनवारीले दुई तथा अशान प्रियन्जनले एक विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङमा तानिएको जककपुरले निर्धारित १७ ओभरमा ६ विकेट गुमाएर १५९ रन बनाएको थियो।
उसका लागि ट्रेभोन ग्रिफिप्थले विस्फोटक ब्याटिङ गर्दै ११ बलमा ४७ रन बनाए। शफरुद्दिन अशरफ ३४, खडक बोहरा २२, समीउल्लाह शिनवारी २० र दिलिप नाथले १० रन बनाउँदा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङमा लुम्बिनीका सागर ढकाल र कुशल भुर्तेलले दुई–दुई तथा इसान पाण्डे र प्याट ब्राउनले समान एक–एक विकेट लिए।
जितसँगै जनकपुर १० खेलमा सातमा जित निकाल्दै १४ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। उता पराजित लुम्बिनी १० खेलमा ८ मा जितसहित तालिकाको शीर्ष स्थानमा छ। यी दुवै टीम प्लेअफ प्रवेश गरिसकेका छन्।
केहीबेरमा आजको दोस्रो खेल विराटनगर सुपरकिंग्स र फारवेस्ट युनाइटेडबीच हुनेछ।
पुष २२, २०७९ शुक्रबार १२:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।