ड्रग माफियाका छोरा पक्राउपछि मेक्सिकोमा दंगा : दुई जनाको मृत्यु, उड्न लागेको विमानमासमेत गोली प्रहार

ड्रग माफियाका छोरा पक्राउपछि मेक्सिकोमा दंगा : दुई जनाको मृत्यु, उड्न लागेको विमानमासमेत गोली प्रहार

एजेन्सी : लागूऔषध तस्कर एल चापोका छोरालाई पक्राउ गरेपछि मेक्सिकोको सिनालोआमा दंगा भड्किँदा दुई जनाको मृत्यु भएको छ।

ओभिडियो गुस्मान लोपेजले आफूलाई आफ्नो बुबाको ड्रग कार्टेलको प्रमुखको रूपमा चिनाउँदै आएका थिए। ओभिडियोलाई सिनालोआ राज्यको कुलियाकान सहरमा ६ महिनाको निगरानीपछि पक्राउ गरिएको थियो।

पक्राउपछि गिरोहका सदस्यहरूले सडक अवरुद्ध, सवारी साधनमा आगजनी र स्थानीय विमानस्थलमा आक्रमण गरेका थिए । उड्ने तयारी गर्दै गर्दा यात्रुवाहक विमानमा गोली प्रहार भएको थियो।

सिनालोआका तीनवटा विमानस्थलमा सयभन्दा बढि उडान रद्द भएका छन्। राज्यका गभर्नरका अनुसार १८ जनालाई अस्पतालमा भर्ना गरिएको छ।

मेक्सिकोका रक्षामन्त्रीका अनुसार ओभिडियो गुजमान लोपेजलाई सिनालोआ ड्रग कार्टेल चलाएको आरोप छ। यो विश्वको सबैभन्दा ठूलो लागूऔषध तस्करी संगठन हो।

ओभिडियोका बुवा एल चापो गुस्मान अमेरिकामा आजीवन कारावासको सजाय भोगिरहेका छन्। उनी सन् २०१९ मा लागुऔषध ओसारपसार र सम्पत्ति शुद्धीकरणको आरोपमा दोषी ठहर भएका थिए।

पुष २२, २०७९ शुक्रबार १०:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।