अल–नासर क्लबमा दर्तै भएन रोनाल्डोको नाम
काठमाडौं : युरोपियन लिग छाडेर साउदी अरेबियाको फुटबल क्लब अल–नासर पुगेको पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको नाम अझै क्लबमा दर्ता हुन सकेको छैन।
क्लबमा विदेशी खेलाडीको कोटा पूर्ण भएकाले उनको नाम अझै दर्ता हुन नसकेको एएफपीले जनाएको छ। मंगलबार भव्य स्वागत गरिएका रोनाल्डोको नाम बिहीबार दिउँसोसम्म क्लबको लिस्टमा दर्ता नभएको समाचारमा उल्लेख छ।
क्लबले आठ जनासम्म विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेमा रोनाल्डो क्लबका नवौं खेलाडी हुन्। उनको नाम क्लबमा दर्ता गराउनका लागि अर्का एक विदेशी खेलाडीलाई हटाउनुपर्ने नाम नबताउने शर्तमा क्लबमा एक अधिकारीले बताए।
‘रोनाल्डोको नाम दर्ता गर्नका लागि कि अर्का एक विदेशी खेलाडीलाई बेच्नुपर्छ वा उनको सम्झौता रद्द गरेर निकाल्नुपर्छ,’ ती अधिकारीले भने, ‘यी दुई विकल्पबाहेक अन्य विकल्प क्लबसँग छैन।’
अल नासरको विदेशी टोलीमा कोलम्बियाका गोलकिपर डेभिड ओस्पिना, ब्राजिलका मिडफिल्डर लुइज गुस्ताभो, ब्राजिलका फरवार्ड एन्डरसन तालिस्का र क्यामरुनका भिन्सेन्ट अबुबाकर सामेल छन्।
साउदी रिपोर्टहरूका अनुसार उज्बेकिस्तानका मिडफिल्डर जलोलिद्दिन माशारिपोभले रोनाल्डोका लागि क्लब छोड्नसक्ने सम्भावना छ।
अर्का क्लबका एक अधिकारीका अनुसार उनीहरूले खेलाडी बेच्नका लागि आफूहरूसँग पनि कुराकानी भएको बताए। उनले भने, ‘एउटा खेलाडी बेच्ने वार्ता जारी छ, तर अझै अन्तिम चरणमा पुगेको छैन।’
पुष २२, २०७९ शुक्रबार १०:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।