कानून तोडेर साउदी बस्ने भए रोनाल्डो र रोड्रिग्वेज, जुनसुकै बेला जेल जानसक्ने
एजेन्सी : पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो साउदी अरेबिया आउनु कम्ती चुनौतीको कुरा थिएन।
युरोपियन लिगहरू छाडेर उनले साहसिक निर्णय लिए र साउदी अरेबिया आए। अल नासर क्लबमा अनुबन्ध भएपछि उनलाई त्यहाँ भब्य स्वागत गरियो पनि।
३७ वर्षीय राेनाल्डाे आफ्नो पार्टनर जर्जिना रोड्रिगेज र पाँच सन्तानसहित वार्षिक करिब २० करोड युरोको साढे दुई वर्षको सम्झौतामा हस्ताक्षर गरेर साउदी अरेबिया पुगेका हुन्।
यद्यपि, पोर्चुगिज स्टार र उनकी पार्टनरको बसाइले अरब प्रायद्वीप देशमा केही विवाद निम्त्याउनसक्ने देखिएको छ। क्रिस्टियानो र जर्जिनाले अहिलेसम्म विवाह नगरेकाले सँगै बस्दा उक्त देशको कानून तोडिने भएकाे हाे।
साउदी अरेबियामा विवाह नगरी एउटै घरमा बस्नु गैरकानूनी छ। रोनाल्डो र रोड्रिग्वेजलाई यस अवस्थामा कस्तो व्यवहार गरिनेछ भन्ने जिज्ञासा बढेको छ।
तर त्यहाँका सरकारी अधिकारीहरूले यो घटनालाई बेवास्ता गर्नसक्ने साउदीका केही कानूनका जानकार बताउँछन्।
‘कानूनले अझै पनि वैवाहिक सम्झौताविना सहवास गर्न निषेध गरेको भए पनि अधिकारीहरूले आँखा चिम्लिएर कसैलाई कारबाही नगर्नसक्छन्,’ एक वकिलले भने, ‘समस्या वा अपराध हुँदा यी कानूनहरू प्रयोग गरिने भए पनि अहिले चुप लागेर बस्नसक्ने देखिएको छ।’
‘आज साउदी अरेबियाका अधिकारीहरूले यस विषयमा हस्तक्षेप नगर्न सक्छन्,’ अर्का वकिलले थपे, ‘तर कानूनले अझै पनि विवाहविनाको सहवासलाई निषेध गरेकाले जुनसुकै समयमा जे पनि हुनसक्छ।’
के क्रिष्टियानो र जर्जिनाबीच विवाह हुन्छ?
रोनाल्डोले मिति तय नभए पनि जर्जिनासँग विवाह गर्ने योजना रहेको संकेत गरेका छन्।
‘म अहिले यसबारेमा सोचिरहेको छैन, तर म भविष्यमा हुनसक्छ,’ नाेभेम्बरमा दिएकाे एक अन्तरवार्तामा उनले भनेका छन्, ‘हामी दुवै यसका लागि योग्य छौं।’
पुष २२, २०७९ शुक्रबार ०८:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।