ठगबहादुरकाे ठाउँमा गएका डीएसपी दानबहादुरले भने- ‘म कुनै आर्थिक प्रलोभनमा फस्ने छैन’

ठगबहादुरकाे ठाउँमा गएका डीएसपी दानबहादुरले भने- ‘म कुनै आर्थिक प्रलोभनमा फस्ने छैन’

बुटवलः इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) दानबहादुर थापाले आफू कुनै आर्थिक प्रलोभनमा नफस्ने बताएका छन्। १० दिनअघि मात्रै बुटवल आएका डीएसपी थापाले बिहीबार कार्यालयमै सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गर्दै यस्तो बताएका हुन्।

इलाका प्रहरी कार्यालय बुटवलका यसअघिका डीएसपी ठगबहादुर केसी सुन काण्डमा आर्थिक प्रलोभनमा फसेपछि उनीमाथिको अनुसन्धान जारी छ।

तर नयाँ आएका डीएसपी थापाले कुनैपनि आर्थिक प्रलोभनमा आफू नपर्ने बताए, “मेरो २५ वर्षको प्रहरी सेवा स्वच्छ ढंगले नै बितेको छ, अब पनि कुनै आर्थिक प्रलोभनमा फस्ने छैन।”

उनले शान्ति सुरक्षा र अपराध नियन्त्रण प्रहरीको मुख्य दायित्व र कर्तव्य रहेको भन्दै यही कर्तव्यलाई कुशल ढंगले निर्वाह गर्ने पनि उनले बताए। डीएसपी थापा यसअघि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) मा कार्यरत थिए।

उनले बुटवलको मुख्य समस्या लागू औषध नियन्त्रण रहेको र पछिल्लो समय आत्महत्या रोकथाम पनि मुख्य चुनौतीको रुपमा देखिएको बताए। साथै थापाले हत्या, हिंसा, लुटपाट, चोरी, डकैती जस्ता जघन्य अपराधमा संलग्नलाई पनि कानुनी दायरामा ल्याउन कुनै कसर बाँकी नराख्ने उल्लेख गरे।

पुष २१, २०७९ बिहीबार १८:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।