सिद्धार्थनगर नगरपालिकाकाे स्पष्टोक्तिः साँढेलाई सडकमा घिसारेकाे हाेइन, व्यवस्थापन गर्न खाेज्दा यस्ताे भयाे

सिद्धार्थनगर नगरपालिकाकाे स्पष्टोक्तिः साँढेलाई सडकमा घिसारेकाे हाेइन, व्यवस्थापन गर्न खाेज्दा यस्ताे भयाे

बुटवलः रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले गोरु (साँढे) लाई ट्रकमा बाँधेर घिसारेको भन्दै बाहिरिएको फोटोमा कुनै सत्यता नभएको बताएको छ। बुधबार साँझ नगरपालिकाले लु१ग ३६२ नम्बरको ट्रकको पछाडि बाँधेर सिद्धार्थनगर नगरपालिकाका कर्मचारी र नगर प्रहरीले साँढेलाई घिसारेको भन्दै फोटो सामाजिक सञ्जालमा भाइरल भएको थियो।

साँढेले चार-पाँच जनालाई हानेर घाइते गराएको र यसलाई व्यवस्थापन गरी गौशालामा लैजाने क्रममा अतिरञ्जीत गराइएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमत खानले बिहीबार पत्रकार सम्मेलनमा बताए।

नगरपालिकाले सीसी टीभी फुटेजसमेत संकलन गरेको भन्दै उनले बाहिर आएजस्तो वास्तविकता नभएको दाबी गरे। उक्त साँढे अहिले यहीं भैरहवामा रहेको र उसलाई कुनै चोटपकट समेत नलागेको नगरपालिकाले बताएको छ।

फोटोमा देखिएको रगत जस्तो वस्तु रातकाे समयमा ट्रकको ब्याक लाइटबाट निस्किएकाे रातो भएको नगरको दाबी छ। पालिकाले उक्त साँढेलाई गौशाला लैजान निकै समस्या भएपछि ट्रकमा बाँधेर डोर्याएको तर थाेरै हिँडेपछि बसेको र बसेका बेला फोटो खिचेर धार्मीक सहिष्णुता खलबल्याउने प्रयास भएको जनाएको छ।

पालिकाले राष्ट्रिय गौं संरक्षण तथा अनुसन्धान केन्द्रको सहयोग र केन्द्रका प्रतिनिधिहरूको उपस्थितिमा साँढेलाई गौशालामा लग्न लागिएको बताएको छ। पत्रकार सम्मेलनमा गौं संरक्षण केन्द्रका अध्यक्ष भूपराज भूर्तेलले हिजोको घटनामा नगरपालिकाको गल्ती नभएको र यसलाई अतिरञ्जित गराइएको बताए।

नगरपालिकाले छाडा चौपाया व्यवस्थापनको नाममा लापर्बाही गरेको भन्दै बिहीबार केही संघ-संस्थाले विरोध समेत गरेका थिए।

पुष २१, २०७९ बिहीबार १८:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।