काठमाडाैंमा अब एक घण्टामै नागरिकता बन्ने

काठमाडाैंमा अब एक घण्टामै नागरिकता बन्ने

काठमाडौंः जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा अब एक घण्टामा नै नागरिकता बन्ने भएकाे छ। प्रशासनले दिने विभिन्न १० सेवामा बिहीबारदेखि  टाइम कार्ड लागू गरेसँगै एक घण्टामा नै नागरिकता बन्ने भएकाे हाे।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार सेवा प्रवाहलाई व्यवस्थित गर्न प्रशासनले विभिन्न १० किसिमका सेवामा टाइम कार्ड लागू गरेकाे हाे।

जसअनुसार अब जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा सबै कागजात पुगेको अवस्थामा एक घण्टाभित्र नै नागरिकता बन्नेछ। त्यसैगरी, नाबालक परिचय पत्र, प्रशासनबाट प्रदान हुने अन्य सबै सिफारिसका लागि पनि एक घन्टाकाे सयम ताेकिएकाे छ।

संस्था नवीकरण, मुद्दा सम्बन्धी पेशी तोक्ने र तारेख दिने कामका लागि भने ३० मिनेटकाे टाइम कार्ड राखिएकाे छ। त्यस्तै, छपाइ भएर आइसकेकाे राहदानी वितरण १५ मिनेट भित्रै हुनेछ। प्रमुख जिल्ला अधिकारीले गर्ने फैसलामा भने ६० दिनकाे समय छुट्टयाइएको छ।

पुष २१, २०७९ बिहीबार १७:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।