गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेश गर्न प्रदेश प्रमुखले गरे आह्वान
पोखराः गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेश गर्न प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आह्वान गरेका छन्। प्रदेश प्रमुखले आगामी पुस २५ गते अपराह्न ४ बजे भित्र दाबी पेश गर्न आज आह्वान गरेका हुन्।
प्रदेश सभामा कुनै एउटा दलको बहुमत नआएपछि प्रदेश प्रमुखले याे एक सूचनामार्फत आह्वान गरेका हुन्।
सूचनामा संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्ति गर्नका लागि दाबी पेश गर्न भनिएकाे छ।
केन्द्रको गठबन्धन अनुसार गण्डकी प्रदेशमा एमाले, माओवादी केन्द्र र राप्रपा मिलेर सरकार बन्नेछ। सहमति अनुसार गण्डकी प्रदेशको मुख्यमन्त्री एमालेको भागमा परेको छ।
नेकपा एमाले संसदीय दलको नेता खगराज अधिकारी चयन भइसकेका छन्। तीन कार्यकालसम्म संघीय सांसदमा निर्वाचित भएर यस अघि स्वाथ्य र गृहमन्त्री समेत भइसकेका उनी पार्टी अध्यक्ष केपी ओलीको सल्लाहमै गण्डकीको मुख्यमन्त्री बन्ने गरी प्रदेशमा झरेका थिए।
गण्डकी प्रदेशसभाका ६० सिटमध्ये सरकार बनाउनका लागि ३१ सांसदको समर्थन आवश्यक पर्छ। जसमा एमालेका २२, नेकपा माओवादीका ८ र राप्रपाका २ सांसद सहित ३२ सांसद पुग्दछन्। यता, नेपाली कांग्रेससँग २७ सिट र एकीकृत समाजवादीको १ सिट रहेकाले कांग्रेसको नेतृत्वमा सरकार बन्ने सम्भावना छैन।
पुष २१, २०७९ बिहीबार १७:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।