ग्वार्को चाेकमा ‘फ्लाइ ओभर’ काे निर्माण माघको पहिलो सातादेखि, १४ महिनामा सम्पन्न गरिने लक्ष्य
काठमाडाैंः ललितपुरको ग्वार्कोमा बनाउन लागिएकाे ‘फ्लाइ ओभर’ काे निर्माण माघको पहिलो सातादेखि सुरु हुने भएको छ। निर्माण थाल्नका लागि हाल आवश्यक तयारी भइरहेको सडक विभाग, गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका प्रवक्ता सौरभ बज्राचार्यले बताए।
बज्राचार्यले भने, ‘हाल सामान व्यवस्थापनको काम भइरहेको छ, सम्भवतः १० दिनपछि निर्माण सुरु हुन्छ।’ केही सामानहरु आयात हुन बाँकी रहेकाले हाल सामान ल्याउने काम भइरहेको पनि उनले बताए।
अहिले नै बाटो बन्द गर्दा ट्राफिक व्यवस्थापनमा समस्या हुने भएकाले सबै तयारी पूरा भएपछि मात्रै निर्माण सुरु गर्न लागिएको हो। फ्लाइ ओभर निर्माण अवधि १४ महिनाकाे तोकिएको छ।
फ्लाइ ओभर बनेपछि चक्रपथमा गुड्ने सवारी साधन पुलमाथिबाट गुड्नेछन् भने मङ्गलबजार- इमाडोल- मङ्गलबजार चल्ने सवारीसाधन पुलमुनिबाट जानेछन्।
यस फ्लाइ ओभरको उचाइ ६ मिटरकाे हुनेछ। जसमा बालकुमारीतर्फ दुई सय ८० मिटर लामो र सातादोबाटोतर्फ एक सय ७५ मिटर लामो ‘र्याम’ बनाइनेछ। फ्लाइ ओभर कुल ४९० मिटर लम्बाइको हुने बताइएकाे छ।
पुष २१, २०७९ बिहीबार १४:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।