सरकार गठनका लागि दाबी पेश गर्न लुम्बिनीका प्रदेश प्रमुखकाे आह्वान
बुटवल : लुम्बिनी प्रदेश सरकार गठनका लागि दलहरूलाई दाबी पेश गर्न आह्वान गरिएको छ।
प्रदेश प्रमुख अमिक शेरचनले पुस २७ गते बुधबार ४ बजेसम्ममा सरकार गठनका लागि दलहरूलाई दाबी पेश गर्न आह्वान गरेका हुन्।
प्रदेश प्रमुख शेरचनले प्रदेश सभामा कुनै दलको बहुमत नआएकाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जनाएका छन्।
पुस १७ गते सांसदहरूको शपथग्रहण तथा १८ गते प्रदेश सभा अधिवेशन सुरू भइसकेको छ। ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको आवश्यकता पर्दछ। अहिले केन्द्रमा गठबन्धन गरेका ६ दलका ५३ सांसद रहेका छन्।
एमाले र माओवादीले मुख्यमन्त्रीको दाबी गर्दै लीला गिरी र जोखबहादुर महरालाई दलको नेता बनाएका छन्। तर, केन्द्रबाटै यहाँको मुख्यमन्त्री कुन दलले पाउने भन्ने सहमति भएको छैन।
पुष २१, २०७९ बिहीबार १३:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।