एन्फा झुक्किएपछि ‘ए’ डिभिजन लिग खेल्ने प्रत्येक क्लबले ३ करोड २५ लाख रूपैयाँ पाउने!
काठमाडौं : एन्फाले शहीद स्मारक ‘ए’ डिभिजन लिगको तयारी सुरू गरेको छ।
लिग खेल्नका लागि बुधबारसम्म प्रवेश फारम बुझाएका १२ मध्ये १० क्लबले तयारी रकमको पहिलो किस्ताबापत १५ लाखसमेत उपलब्ध गराइसकेको छ।
बिहीबार यसकै जानकारी दिएर एन्फाको वेबसाइटमा एउटा समाचार राखियो। तर एन्फाका पदाधिकारी मिलियनमा झुक्किए। उनीहरूले मिलियनलाई लाख बुझे र समाचार लेखे, ‘एन्फाले तयारीका लागि प्रत्येक क्लबलाई ३२.५ मिलियन रूपैयाँ दिनेछ।’
यो रकम भनेको ३ करोड २५ लाख रूपैयाँ हो। पहिला २२ लाख ५० हजार दिँदै आएको एन्फाले एकैपटक यतिधेरै किन दिन लागेछ भनेर उकेराले एन्फा प्रवक्तासँग बुझ्यो।
प्रवक्ता सुरेश शाहले प्रत्येक टिमलाई ३ करोड २५ लाख रूपैयाँ दिने कुरा झुटो भएको बताए। उनले भने, ‘३ करोड २५ लाख होइन, प्रत्येक टिमलाई ३२ लाख ५० हजार रूपैयाँ दिइने हो।’
वेबसाइटमा राख्दा राख्दा सामान्य गल्ती भएको हुनसक्ने भन्दै उनले त्यसलाई सच्याइने बताए। यस्तै उनले बिहीबार दिउँसोसम्म १२ टिमले प्रवेश फारम बुझाएर पहिलो किस्ताबापतको १५ लाख रूपैयाँ लगिसकेको जानकारी दिए।
उनका अनुसार पहिला एन्फाले ‘ए’ डिभिजन लिगक क्लबलाई तयारीका लागि २२ लाख ५० हजार रूपैयाँ दिँदै आएकोमा अहिले त्यसमा १० लाख बढाएर ३२ लाख ५० हजार दिन लागेको हो।
लिगका लागि क्लबहरूले भोलिसम्म प्रवेश फारम बुझाउनुपर्नेछ। खेल फागुन १९ गतेदेखि सुरु हुनेछ। जसका लागि एन्फा तयारीमै रहेको प्रवक्ता शाहले बताए।
पुष २१, २०७९ बिहीबार १२:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।