‘ए’ डिभिजन लिग खेल्ने १० टिमले पाए पहिलो किस्ताको रकम
काठमाडौं : आगामी शहीद स्मारक ‘ए’ डिभिजन लिगका लागि बुधबारसम्म १४ शीर्ष तहका ११ क्लबले प्रवेश फारम बुझाएका छन्।
दर्ता भएका ११ मध्ये १० क्लबले एन्फाले लिगका लागि उपलब्ध गराएको तयारी रकमको पहिलो किस्ता लिएका छन्।
चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, हिमालयन शेर्पा, थ्रीस्टार क्लब, संकट क्लब, न्यूरोड टिम (एनआरटी) र नेपाल पुलिस क्लबले प्रवेश फारम भरेका छन्।
नेपाल पुलिस क्लब बाहेक सबैले तयारी रकमको पहिलो किस्ताबापत १५ लाख रूपैयाँ प्राप्त गरेका छन्।
एन्फाले तयारीका लागि प्रत्येक क्लबलाई ३२ लाख ५० हजार रूपैयाँ दिनेछ। यो रकम पहिले उपलब्ध गराइएको रकमबाट १० लाख रूपैयाँले बढेको हो।
लिगका लागि क्लबहरूले आउँदो जनवरी ६ सम्मको प्रवेश फारम बुझाउन सक्नेछन्। लिग फागुन १९ गतेदेखि सुरू हुनेछ।
पुष २१, २०७९ बिहीबार १२:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।