सिद्धार्थनगर नगरपालिकाको निर्मम हर्कत, छाडा चौपायालाई गाडीमा बाँधेर सडकमै घिसारे

सिद्धार्थनगर नगरपालिकाको निर्मम हर्कत, छाडा चौपायालाई गाडीमा बाँधेर सडकमै घिसारे

बुटवल, २१ पुस । छाडा छाडिएको पशुचौपायाले सवारी दुर्घटनाका साथै नगरको सौन्दर्यकरणमा असर पारेको भन्दै रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले छाडा चौपाय नियन्त्रणको काम सुरु गर्यो।

नगरपालिकाले राष्ट्रिय गौ संरक्षण तथा अनुसन्धानको केन्द्रको सहकार्यमा छाडा चौपाया व्यवस्थापनको काम थाल्यो।

नगरपालिकाको व्यवस्थापन सुरु गरे पनि छाडा चौपायाको नियन्त्रणलाई लिएर सिद्धार्थनगर नगरपालिकाको चौतर्फी विरोध भएको छ।

४ पुसदेखि छाडा चौपाया व्यवस्थापन सुरु गरेको नगरले नियन्त्रण गर्नका लागि गाई, गोरू, साँढेलाई घिसार्दै लगेपछि विरोध भएको हो।

बुधबार रातीमात्र नियन्त्रणमा ल्याउन छाडा चौपायालाई सडकमै घिसारिरहेका तस्बिरहरू अहिले सामाजिक सञ्जालमा छाएका छन्।

डोरीले चौपायालाई बाँधेर गाडीले घिसार्दै लगिएका तस्बिरहरू सार्वजनिक भएसँगै नगरपालिकाको विरोध भएको हो।

सिद्धार्थनगर नगरपालिकाले लु १ ग ३६२ नम्बरको ट्रकमा बाँधेर साँढेलाई घिसार्दै लगेको तस्बिर सामाजिक सञ्जालमा राखेपछि आलोचना भइरहेको छ।

छाडा चौपाया नियन्त्रण गर्ने नाममा निर्ममतापूर्वक घिसारेर लगिएको भन्दै स्थानीयले विरोध गरेका हुन्।

भैरहवाका सामाजिक अभियन्ता प्रख्यात बन्जाडेले नगरपालिकाले पशुचौपायामाथि निर्ममतापूर्ण व्यवहार गरेको विरोधमा बिहीबार नगरपालिकामा ज्ञापनपत्र बुझाउने बताए।

त्यसैगरी भैरहवाका समाजदेवी भरत पोखरेलले पनि छाडा पशुचौपाया नियन्त्रण गर्नुपर्ने भए पनि तरिका गलत भएको बताए।

नगरपालिकाले हाल बर्दघाटमा छाडा चौपाया पालनपोषणका लागि पठाउने गरे पनि सिद्धार्थनगर नगरपालिकाको वडा नम्बर ११ स्थित नगरपालिकाको स्वामित्वमा रहेको जग्गामा कान्जीहाउस निर्माणको प्रक्रिया पनि अघि बढाइएको छ।

सिद्धार्थनगर नगरपालिकाकी उप–प्रमुख उमा अधिकारीले उक्त हाउसलाई छाडा चौपायाको व्यवस्थापनका लागि होल्डिङ सेन्टरको रूपमा प्रयोग गरिने बताइन्।

केही नगरवासीले गाईगोरु दिउँसो गोठमा राखेर साँझ छाड्ने गरेको पाइएकोले त्यस्ता कार्य नगर्न उनले आग्रहसमेत गरिन्।

पुष २१, २०७९ बिहीबार ११:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।