बिहे गरेको अर्को दिन प्रेमिका प्रहरीमा, बलात्कार आरोपमा बेहुला पक्राउ
दाङ : विवाह गर्छु भनेर बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय दाङले घोराही २ रामपुरबाट शिवम न्यौपानेलाई पक्राउ गरेको छ। २५ वर्षीय युवतीलाई होटेलमा लगेर विवाह गर्ने भन्दै यौन सम्बन्ध राखेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
बेलायत बस्दै आएका उनी हालै मात्रै नेपाल आएका थिए। युवतीले आफूलाई विवाह गर्ने आश्वासन दिएर युवकले पटक-पटक यौन सम्पर्क राखेको भन्दै जबरजस्ती करणीमा जाहेरी दिएकी छिन्।
बेलायतमा हुँदादेखि नै उनीहरूबिच मेसेन्जरमा कल हुँदै आएको र दाङ आएपछि उनीहरूबिच सम्बन्ध रहँदै आएको प्रहरीले जानकारी दिएको छ।
यो बलात्कार मुद्दा मिलाउन दबाब आएको र यसमा सहजीकरण गर्न केही प्रहरी सक्रिए भएको स्रोत बताउँछ। पैसामा न्यौपानेले तीन दिन अघि मात्रै बिहे गरेका थिए। जाहेरी दिने युवतिसँग बिहे गर्छु भनेर आश्वासन दिएका युवक अन्तिममा आएर अर्की युवतीसँग बिहे गरेपछि यो घटना बाहिर आएको हो।
प्रहरीले युवक र जाहेरी दिने युवती दुवै सम्बन्ध विच्छेद गरेका व्यक्ति भएको अनुसन्धानबाट खुलेको जनाएको छ। प्रहरीका अनुसार बेलायत लैजाने भन्दै केही युवाहरूसँग पैसा उठाएर ठगी गरेको युवकमाथि थप आरोप समेत लागेको छ।
पुष २०, २०७९ बुधबार २२:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।