पोखरामा १ करोड लागतमा आधुनिक सार्वजनिक शौचालय बनाइने, निःशुल्क सेनेटरी प्याडकाे पनि व्यवस्था

पोखरामा १ करोड लागतमा आधुनिक सार्वजनिक शौचालय बनाइने, निःशुल्क सेनेटरी प्याडकाे पनि व्यवस्था

पोखराः पोखरा महानगरपालिका वडा नं.९ महेन्द्रपुलमा आधुनिक सार्वजनिक शौचालयसहित चमेना गृह बनाइने भएको छ। मंगलबार शौचालयसहित चमेना गृह बनाउनका लागि पोखरा महानगरपालिका र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच सम्झौता भएको छ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको रोहबरमा भएको सम्झौतामा महानगरपालिकाको तर्फबाट सहायक प्रमुख प्रशासकीय अधिकृत जितेन्द्रजंग केसी र एनआरएनएको तर्फबाट कार्यकारी अध्यक्ष रविना थापाले हस्ताक्षर गरे।

केही समय पहिले महानगरले यस ठाउँमा जिर्ण अवस्थामा रहेका भवनहरू पर्यटन प्रवद्धनसँगै नागरिकको सेवाका लागि भन्दै हटाएको थियो। उक्त ठाउँमा नै जनतालाई सर्वसुलभ सेवा प्रदान गर्ने उद्देश्यले चमेना गृहसहितको सार्वजनिक शौचालय निर्माण गर्न लागिएको महानगरपालिकाका प्रमुख आचार्यले बताए।

उनका अनुसार त्यस ठाउँमा महिलाहरूका लागि स्तनपान कक्षसमेत बनाउने योजना छ। यो शौचालयमा निःशुल्क सेनेटरी प्याडसमेत उपलब्ध हुनेछ।

सम्झौता अनुसार महेन्द्रपुलको उत्तरतर्फ रहेको कि.न. ८२ को ५ आना क्षेत्रफलमा एनआरएनए र महानगरको संयुक्त लगानीमा अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृह निर्माण गरिनेछ।

यसमा एनआरएनएले ६० प्रतिशत र पोखरा महानगरपालिकाले ४० प्रतिशत खर्च गर्ने छन् । करिब १ करोड लागतमा ३ महिनाभित्र निर्माण सम्पन्न गरिने संरचनाका लागि ६० लाख खर्च एनआरएनए र ४० लाख महानगरपालिकाले बेहोर्ने छन्।

पुष २०, २०७९ बुधबार २१:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।