प्रधानमन्त्रीको निर्देशनपछि सेयर बजारमा हरायली
काठमाडौंः नेपाल राष्ट्र बैंक, निजी क्षेत्रले माग गरिरहेको चालु पूँजी कर्जा मार्गदर्शनलाई संशोधन गर्न तयार भएपछि बुधबार सेयर बजार परिसूचक नेप्से उच्च अंकले बढेको छ। बुधबार सेयर बजारमा उछाल देखिँदा नेप्सेले २१ सय अंक पार गरेकाे हाे।
निजी क्षेत्रले माग गरिरहेको चालु पूँजी कर्जा मार्गदर्शनलाई प्रधानमन्त्रीको निर्देशनपछि संशोधन गर्न नेपाल राष्ट्र बैंक तयार भएकाे थियाे।
यसैकाे प्रभाव स्वरुप बुधबार बजार ६४.८७ अंकले बढेर २१२५.९४ बिन्दुमा पुगेको छ। यस दिन कुल २०७ कम्पनीको मूल्य बढ्दा ८ कम्पनीकाे मूल्यमा सकारात्मक सर्किट लाग्यो।
साल्ट ट्रेडिङ, हिमालयन डिष्ट्रिलरी, कालिका लघुवित्त, मिर्मिरे लघुवित्त, किसान लघुवित्त, नाडेप लघुवित्त, पिपुल्स पावर र खप्तड लघुवित्तकाे मूल्यमा सकारात्मक सर्किट लागेकाे हाे।
मंगलबार ३ अर्ब ४५ करोड रुपैयाँको कारोबार हुँदा बुधबार कारोबार रकम समेत बढेको छ। दिनभर कुल ३ अर्ब ५० करोडको कारोबार भयो।
पुष २०, २०७९ बुधबार १७:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।