बेटिङ, म्याच फिक्सिङ र खेलाडीकाे पारिश्रमिककाे कारण छाँयामा नेपाल टी-ट्वान्टी लिग, क्यानलाई पहिलाे गाँसमै ढुंगा
काठमाडौंः अन्य क्षेत्रबाट नेपालमा आयाेजना भएकाे फ्रेन्चाइज लिगकाे सफलता देखेर नेपाल क्रिकेट संघ (क्यान) ले पहिलाे पटक आधिकारिक घरेलु फ्रेन्चाइज लिगकाे रुपमा नेपाल टी-ट्वान्टी लिगकाे आयाेजना गरेकाे थियाे। यसलाई नै नेपालकाे आधिकारिक लिग बताउँदै क्यानले अन्य लिगलाई प्रतिबन्ध समेत लगायाे।
तर नेपालकाे आधिकारिक घरेलु फ्रेन्चाइज लिग, नेपाल टी-ट्वान्टी लिग सुरु हुनु भन्दा पहिलेदेखि नै विवादमा थियाे। खेल दाैरान टीयू मैदान कीर्तिपुरबाट नै सट्टेबाजी (बेटिङ) भइरहेकाे समाचार आएपछि विवाद झन् बड्न थाल्याे।
यसपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शंकास्पद गतिविधिमा सम्लग्न चार जनालाई मैदनबाट नै पक्राउ गरकाे थियाे।
मंगलबार नेपाल टी–ट्वान्टी लिगका कमेन्टेटर सचिन तिमिल्सेनाले नै लिगमा फिक्सिङ भएको आरोप लगाए। उनले सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश जारी गर्दै प्रतियोगितामा फिक्सिङ भएको बताएका थिए।
‘मैले नेपाली क्रिकेटमा यस्ता घटनाहरू देखे जुन पहिले कहिले देखेको थिइन। सन् २०१७ भारतीयहरूले आयोजना गरेको एसियन प्रिमियर लिगमा फिक्सिङ भएको थियो। मलाई क्यान नै इन्भल्भ भएपछि क्रिकेट सफा हुन्छ भन्ने लागेको थियो। तर, यसमा भएन,’ सचिनले भने।
सचिनले लिगमा हुने फिक्सिङले खेलको नतिजामा असर नपर्ने भए पनि खेलको बीचमा हुने क्रियाकलापमा असर पर्ने गरी फिक्सिङ भइरहेको बताए।
क्यानका पदाधिकारीहरूलाई भन्दासमेत केही नभएपछि आफूले भिडियो बनाएको भन्दै सचिनले नेपाल टी–ट्वान्टी फिक्सरहरूको हातमा गएको र यसले नेपाली क्रिकेटलाई बिगार्न सक्ने धारणा राखेका थिए।
यसपछि नेपाली क्रिकेट टिमका पूर्वकप्तान एवं नेपाल टी–ट्वान्टी लिगमा काठमाडौं नाइट्सका कप्तान रहेका ज्ञानेन्द्र मल्लले पनि आफ्नो टिमलाई म्याच फिक्सिङको प्रस्ताव आएको खुलासा गरेका थिए।
मंगलबारको खेलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मल्लले काठमाडौं नाइट्सका एक खेलाडीलाई फिक्सरले फिक्सिङको प्रस्ताव राखेको बताए।
‘हाम्रो टीमको एउटा खेलाडीलाई अप्रोच गरेको थियो। तर, अप्रोच र फिक्सिङ फरक कुरा हो,’ मल्लले भने, ‘हामीले रिपोर्ट गरेर यो विषयको अनुसन्धान भइसकेको छ।’
नेपाल क्रिकेट संघ क्यानले आयोजना गरेको यस लिगको सञ्चालनको जिम्मा भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसले पाएको छ। सेभेन थ्री स्पोर्टस नामक कम्पनी भारतमा सट्टेबाजी गर्नको लागि दर्ता भएको कम्पनी हो।
नेपालमा सट्टेबाजी गैरकानुनी भए पनि यो लिग दौरान सट्टेबाजी भैरहेको समाचार चर्चामा छ। सट्टेबाजी भएपछि म्याँच फिक्सिङ हुन सक्ने सम्भावना पनि बढी हुने गर्छ।
मंगलबार फिक्सिङकाे निकै चर्चा भएपछि गृहमन्त्री रवि लामिछाने नेपाल टी-ट्वान्टी लिगबारे अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई नै निर्देशन दिए।
त्यस्तै, नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले पनि लिगको निष्पक्ष छानविन गरेर दोषीमाथि कडा कारवाही गर्न माग गरेका छन्।
याे सबै भएपछि बुधबार नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी-ट्वान्टी लिगमा भएको भनिएको म्याच फिक्सिङ र स्पट फिक्सिङबारे आधिकारिक धारणा सार्वजनिक गरेको छ। क्यानले म्याच फिक्सिङ भएकाे भेटिएमा प्रमाणसहित उजुरी गर्न भनेकाे छ।
धेरै दिनपछि बाेलेकाे क्यानले प्रमाण नभइ संघ र राष्ट्रको नाममा भ्रामक सूचनाहरू नफैलाउन पनि आग्रह गरेको छ।
एकातिर फिक्सिङकाे विवाद चलिरहँदा अर्काे तर्फ खेलाडी र रेफ्रीले पारिश्रमिक नपाएकाे गुनासाे पनि बाहिरिएकाे छ। मंगलबार खेलाडीहरूले आर्थिक सुरक्षाको ग्यारेन्टीको माग गर्दै खेल खेल्न मानेका थिएनन्। यसपछि क्यानका पदाधिकारी र खेलाडीहरूबीच भएको छलफलपछि सहमति जुटेको थियो।
पुष २०, २०७९ बुधबार १६:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।