१ सय वर्षपछि अमेरिकी सदन सभामुखविहीन, म्याकार्थीले चिढ्याउँदा पार्टीकै सांसद्ले मत हालेनन्

१ सय वर्षपछि अमेरिकी सदन सभामुखविहीन, म्याकार्थीले चिढ्याउँदा पार्टीकै सांसद्ले मत हालेनन्

एजेन्सी : अमेरिकी संसदमा करिब एक सय वर्षमा पहिलो पटक सभामुखविना नै सदन स्थगित गर्नुपरेको छ।

रिपब्लिकन पार्टीका नेता केभिन म्याकार्थी मंगलबार प्रतिनिधि सभाको सभामुखमा निर्वाचित हुन नसकेपछि मंगलबार रातिको बैठक सभामुखविना नै स्थगित भएको हो।

पहिलो चरणको मतदानमा सभामुखको निर्वाचन हुन नसकेपछि सन् १९२३ पछि पहिलोपटक यस्तो भएको हो।

नोभेम्बरमा भएको निर्वाचनपछि प्रतिनिधिसभामा रिपब्लिकन पार्टीलाई सभामुख पद पाउन सहज मानिएको थियो।

तर, उनले आफ्नै पार्टीमा विरोधको सामना गर्नुपर्यो। उनलाई विजयी हुन २१८ मत आवश्यक थियो जबकी रिपब्लिकन पार्टीसँग २२२ सिट थियो। तर पार्टीका १९ सांसद्ले उनीविरुद्ध उत्रिएपछि यस्तो भएको हो।

एक रिपब्लिकन सांसद् लबीस्टले भने, ‘म्याकार्थीले केही समूहहरूमा साथीहरू बनाएका छैनन्। उसले धेरै शत्रु बनाएका छन्। राजनीतिक र व्यक्तिगत कारणले उनलाई धेरैले मन पराउँदैनन्।’

अमेरिकी संसदमा सभामुख पदका लागि लगातार तीन पटक चुनाव भए पनि क्यालिफोर्नियाका सांसद म्याकार्थीले जित्न सकेनन्। अब बुधबार पनि मतदान हुँदैछ। सभामुख नचुनिएसम्म मतदान जारी रहने बीबीसीले जनाएको छ।

पुष २०, २०७९ बुधबार १४:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।