टस ढिलो भएपछि लुम्बिनी र काठमाडौंको खेल १७ ओभरमा झारियो

टस ढिलो भएपछि लुम्बिनी र काठमाडौंको खेल १७ ओभरमा झारियो
तस्बिर- क्यान

काठमाडौं : कीर्तिपुरमा जारी नेपाल टी–२० लिगको बुधबारको पहिलो खेल १७ ओभरमा झारिएको छ।

टस गर्न ढिलो भएपनि खेललाई १७ ओभरमा झारिएको हो। लुम्बिनी अल स्टारका कप्तान दीपेन्द्रसिंह ऐरी मैदानमा पुगे पनि काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्ल मैदानमा जान ढिला गरेपछि टस ढिला भएको हो।

काठमाडौं नाइट्सका खेलाडीले प्रतियोगिताको पारिश्रमिक अहिलेसम्म पाएका छैनन्। नियमअनुसार खेल हुनुभन्दा पहिले ४० प्रतिशत र खेल चलिरहँदा बाँकी रकम भुक्तानी गर्नुपर्नेहुन्छ। तर, त्यसो नहुँदा पहिलो संस्करणको लिग नै विवादमा तानिएको छ।

खेलाडीहरूले टीमबाट एक रूपैयाँ पनि नपाएपछि मंगलबार पनि काठमाडौं नाइट्सका खेलाडीले खेल्न मानेका थिएनन्। आफूले पाउने पारिश्रमिक नियामानुसार समयमै भुक्तानी नभएकाले टस नगरेको कप्तान मल्लले मंगलबार नै बताएका थिए।

हिजो क्यानका पदाधिकारी र खेलाडीबीच भएको सहमतिमा मंगलबार रातिसम्म सबै खेलाडीको पारिश्रमिक भुक्तानी गर्ने सहमति भएको थियो। त्यसपछि मात्र मंगलबार २ घण्टापछि टोलीले टस गर्न मानेको थियो। त्यसपछि खेललाई ९ ओभरमा झारिएको थियो।

यसैबीच हिजै लिगका कमेन्टेटर सचिन तिमल्सिनाले लिगमा स्पट फिक्सिङ भएको आरोप लगाउँदै आफू लिगबाट बाहिरिएको जानकारी गराएका थिए। सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै उनले आफूले यस्तो प्रतियोगिता आजसम्म नदेखेको बताएका हुन्।

पुष २०, २०७९ बुधबार १०:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।