भवनमा मन्त्रालय छिरेपछि ‘अनकन्टार’ भगाइए विद्यार्थी, प्रयोगशालाविनाको प्राविधिक शिक्षा लिँदै
देउखुरी : लुम्बिनी प्रदेशका मन्त्रालय राख्न तीन दशक पुरानो राप्ती प्राविधिक शिक्षालयमा अहिले सिँगारपटारको काम चलिरहेको छ। भएका भवनहरूको मर्मत तथा रंगरोहन भइरहेको छ भने केही स्थानमा नयाँ भवनहरू निर्माणको काम पनि चलिरहेको छ।
मन्त्रालयहरू राप्ती प्राविधिक शिक्षालयमा आएपछि अहिले ‘अनकन्टार’ ग्रामीण क्षेत्रमा राप्ती शिक्षालय सारिएको छ।
दाङको भालुवाङबाट ५ किलोमिटर पश्चिम गएपछि उत्तर क्षेत्रमा रहेको करिब १९ बिगाह क्षेत्रफलमा ४२ वटा भवनसहितको सुविधासम्पन्न शिक्षालय प्रदेश सरकारले लिएपछि अहिले सो शिक्षालयलाई त्यहाँभन्दा करिब १३ किलोमिटर दक्षिणमा गढवा गाउँपालिकामा रहेको सरस्वती मावि रहेको भवनमा स्थानान्तरण गरिएको छ।
त्यहाँ रहेको सरस्वती माविका विद्यार्थीहरूका लागि त्यहाँ हालै मात्र बनाइएको टिनले छाएको कच्ची संरचनामा सारिएको छ।
सुविधासम्पन्न संरचना, आधुनिक प्रयोगशालामा अध्ययन गरिरहेका विद्यार्थी अहिले सरस्वती विद्यालयको साँघुरो स्थानमा गएपछि विद्यार्थी निराश मात्र बनेका छैनन्, सरकारसमक्ष उनीहरूको गुनासै गुनासा छन्।
शिक्षालयमा सिभिल इन्जिनियरिङ डिप्लोमा तहको अध्ययन गरिरहेका प्यूठानका सुनिल विश्वकर्माले नयाँ स्थानमा आउँदा सुविधा केही नहुँदा अध्ययनमा समस्या भएको बताए।
‘पहिले सुविधा सम्पन्ननै लागेर भर्ना भएको हो। तर अहिले यहाँ आएपछि अध्ययनको वातावरण नै छैन,’ उनले भने, ‘सबै अस्तव्यस्त छ। संरचना पनि केही छैन। राज्यले कम्तीमा हामीहरूलाई राम्रो ठाउँमा व्यवस्थापन गर्नुपर्नेमा चासो देखाएको छैन।’
साथै उनले ल्याब पनि अहिलेसम्म नबन्दा प्रयोगात्मक अध्ययन गर्न समस्या भएको बताए।
पुर्व पश्चिम राजमार्गको छेउमा पहिले शिक्षालय भए पनि अहिले टाढा भएकाले यातायातको सहज पहुँच पनि विद्यालयसम्म आउन नरहेको उनले बताए ।
डिप्लोमा इन फार्मेसी पढ्ने सल्यानका सरदप्रसाद थापाले पनि नयाँ स्थानमा सुविधा केही नपाएको बताए। कपिलवस्तु बहादुरगन्जका रामनारायण कश्यप प्रयोगात्मक अध्ययनका लागि सरकारले आफूहरूको गुनासो सम्बोधन गर्नुपर्ने बताए।
करिब ८ सय विद्यार्थी अध्ययनरत शिक्षालय नयाँ स्थानमा सारेपछि विद्यार्थी तथा अभिभावकको रोजाइ नै पर्न छाडेको उनीहरूले बताए।
त्यसैगरी अर्का विद्यार्थी नबिन उपाध्यायले नयाँ ठाउँ भएकाले शिक्षकहरू नै नियमित नभएको गुनासो गरे। फार्मेसी विषयमा डिप्लोमा अध्ययन गर्दै आएकी घोराहीकी स्मारिका शर्माले अध्ययनका लागि आउन यातायात समस्या भएको र केही सुविधा नभएको भन्दै यस विषयमा आवाज उठाइदिन आग्रह गरिन्।
‘गाउँमा यातायातको समस्या छ, बस्ने कोठा पनि राम्रो पाइँदैन, जसले गर्दा पढाइ पनि प्रभावित हुने हो की भन्ने डर छ’, उनले भनिन् ।
संघीय सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट मन्त्रीस्तरको निर्णय अनुसार २०७९ असार २१ गते शिक्षालयको जग्गा प्रदेश सरकारले उपभोग गर्न पाउने स्वीकृति दिएको थियो।
त्यसैअनुसार राप्ती गाउँपालिका ३ मा रहेको राप्ती प्राविधिक शिक्षालय र गढवा गाउँपालिका ३ स्थित सरस्वती माध्यमिक विद्यालय गोवरडिया बीच २०७९ साउन ३ गते शिक्षालय विद्यालयमा सार्ने सम्झौता भएको थियो।
३ गते सम्झौता गरे पनि सम्झौता पत्र हस्तान्तरण भने ०७९ साउन ७ गते मात्र गरियो। सरस्वती माविले तत्कालको अवस्थामा सोही विद्यालयको ४ बिगाह जग्गामा अस्थायी संरचना निर्माण गरी विद्यालय व्यवस्थापन गर्दैछ।
२०५० सालमा एसियाली विकास बैंकको सहयोगमा स्थापना भएको राप्ती प्राविधिक शिक्षालयमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतका प्राविधिक कक्षाहरू सञ्चालन हुँदै आएका थिए। जहाँ आधुनिक प्रयोगशालासहित सबै एकै परिसरमा व्यवस्थापन गरिएको थियो।
लुम्बिनी प्रदेशका मुख्य मन्त्री कुलप्रसाद केसीले भने शिक्षालयलाई क्रमशः व्यवस्थापन गर्ने जिकिर गरे। प्रदेशको राजधानी आएकोमा खुसी रहेका यो क्षेत्रका नागरिक तीन दशक पुरानो स्थापित प्राविधिक शिक्षालयको अस्तव्यस्तताबारे भने आवाज उठाउन सकेका छैनन्।
पुष २०, २०७९ बुधबार ०८:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।