नेपाल टी-ट्वान्टी लिगमा गृहकाे चासाे, अनुसन्धान गर्न सीआईबीलाई गृहमन्त्री लामिछानेकाे निर्देशन

नेपाल टी-ट्वान्टी लिगमा गृहकाे चासाे, अनुसन्धान गर्न सीआईबीलाई गृहमन्त्री लामिछानेकाे निर्देशन

काठमाडाैं। गृहमन्त्री रवि लामिछाने नेपाल टी-ट्वान्टी लिगबारे अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई निर्देशन दिएका छन्। नेपाल टी-ट्वान्टी लिगमा सट्टेबाजी र म्याच फिक्सिङ भएकाे भन्ने विवाद चलिरहेका बेला गृह मन्त्रालयले पनि यस विषयमा चासाे दखाएकाे हाे।

नेपाल क्रिकेट संघ क्यानले आयोजना गरेकाे यस लिगकाे सञ्चालनकाे जिम्मा भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसले पाएकाे छ। सेभेन थ्री स्पोर्टस नामक कम्पनी भारतमा सट्टेबाजी गर्नकाे लागि दर्ता भएकाे कम्पनी हाे।

नेपालमा सट्टेबाजी गैरकानुनी भए पनि याे लिग दाैरान सट्टेबाजी भैरहेकाे समाचार चर्चामा छ। त्यसैगरी, म्याच फिक्सिङकाे पनि सम्भावना देखिएकाे कुरा बाहिर आएपछि अनुसन्धानका लागि गृहमन्त्री रवि लामिछानेले प्रहरी मुख्यालयलाई निर्देशन दिएका छन्।

मंगलबार नेपाली क्रिकेट टिमका पूर्व कप्तान तथा जारी लिगमा काठमाडाैंका कप्तान रहेका ज्ञानेन्द्र मल्लले पनि टिमकाे खेलाडीलाई म्याच फिक्सिङ गर्न अप्राेच भएकाे बताएका थिए। साथै, लिगकाे कमेन्टेटरको रुपमा रहेका सचिन तिमल्सिनाले पनि म्याच फिक्सिङ भइरहेको उल्लेख गरेका थिए।

पुष १९, २०७९ मंगलबार १८:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।