किन दिए बालेनले निर्वाचन आयोगविरुद्ध नै सर्वोच्चमा रिट?
काठमाडौंः काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले मंगलबार निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। निर्वाचन आयोगले जरिवाना तिराउन खाेजेपछि उनले सर्वाेच्चमा रिट हालेका हुन्।
स्थानीय तहको निर्वाचनकाे खर्च विवरण समयमा नबुझाएको भन्दै आयोगले बालेनलाई स्पष्टीकरणसँगै जरिवाना गर्ने निर्णय गरेको थियो। तर बालेनका अनुसार भने उनले समयमा नै निर्वाचनकाे खर्च विवरण आयोगलाई बुझाएका छन्।
नियमअनुसार निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्नुपर्ने हुन्छ। बालेनले भने रिटमा ३० औं दिनमा सार्वजनिक विदा परेकाले त्यसको भोलिपल्ट खर्चको विवरण पेस गरेका उल्लेख गरेका छन्।
समयमा खर्च विवरण बुझाउँदा पनि आयोगले ७ लाख ५० हजार जरिवाना तिर्न लगाउने र ६ महिनाभित्र जरिवाना नबुझाए पदमुक्त गर्न सक्ने निर्णय गरेकाे कारण उनी सर्वाेच्च पुगेका हुन्।
बालेनसँगै स्थानीय तहको निर्वाचनका धेरै उम्मेदवारलाई निर्वाचनकाे खर्च विवरण समयमा नबुझाएको भन्दै आयोगले जरिवाना गर्ने निर्णय गरेको थियो।
पुष १९, २०७९ मंगलबार १६:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।