खेलाडीलाई आज रातिसम्म पारिश्रमिक दिने सहमति, मल्ल भन्छन्- ‘टिम ‌ओनरलाई मिस गरिराछौं’

खेलाडीलाई आज रातिसम्म पारिश्रमिक दिने सहमति,  मल्ल भन्छन्- ‘टिम ‌ओनरलाई मिस गरिराछौं’

काठमाडौं : कप्तान ज्ञानेन्द्र मल्लले कीर्तिपुरमा जारी नेपाल टी–२० लिगमा आफ्नो टिम काठमाडौं नाइट्सका कुनै पनि खेलाडीले पारिश्रमिक नपाएको बताएका छन्।

मंगलबार विराटनगर सुपरकिंग्सलाई ३४ रनले पराजित गरेपछि सञ्चारकर्मीसँग बोल्दै मल्लले आफ्नो टिमका कसैले पनि पारिश्रमिक नपाएको बताएका हुन्। खेलाडीहरूलाई दिने भनिएको पारिश्रमिक नदिएको र झुलाइरहेपछि आफूहरू खेल नखेल्ने निर्णयमा पुगेको बताए।

मल्लले भने, ‘धेरै नै लामो समयदेखि हाम्रो पारिश्रमिकको विषय सम्बोधन नभएपछि हामीले यस्तो निर्णय लिएका हौं। लिखित प्रतिबद्धता पेश भएको सन्दर्भमा हामीहरू खेल्न तयार छौं भनेपछि उहाँहरू त्यसका लागि तयार हुनुभयो।’

क्यानका पदाधिकारीले मंगलबार रातिसम्ममा खेलाडीको पारिश्रमिकको विषय टुंग्याइने वचन दिएको मल्लने बताए।

उनले अगाडि थपे, ‘आज रातिसम्ममा सबै कुराहरु हुनेछ भन्ने कुरा गर्नुभाको छ। त्यहि सहमतिको आधारमा हामी मैदानमा फर्किएका हौं।’

मंगलबार रातिसम्म पनि प्रतिबद्धता पूरा नभए सोहीअनुसार छलफल गरेर निर्णय गर्ने मल्ले बताए। पारिश्रमिक आफ्नो मात्र नभएर सबै खेलाडीको रोकिएकाले सबैसँग सल्लाह गरेर निर्णय लिइने उनले स्पष्ट पारे।

व्यङ्ग्यात्मक हाँसाे हास्दै मल्लले टिमका खेलाडीहरूले ओनरलाई एकदमै धेरै मिस गरिरहेको बताए। पहिलाको फ्रेन्चाइज लिगहरूमा सबै खेलाडी र टीम ओनरबीच हुने सद्भाव यसपाली देख्न नपाएको र भेट्नै नपाइएको दुःखेसो उनले पोखे।

पुष १९, २०७९ मंगलबार १४:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।