गाउँपालिका अध्यक्ष नै गाँजा तस्कर, साढे तीन वर्ष जेल सजाय

गाउँपालिका अध्यक्ष नै गाँजा तस्कर, साढे तीन वर्ष जेल सजाय

काठमाडौं : बागलुङको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई साढे तीन वर्ष जेल सजाय हुने भएको छ।

बागलुङ जिल्ला अदालतका न्यायाधीश डा. दिवाकर भट्टको इजलाशले लागूपदार्थ कारोबारको अभियोगमा घर्तीलाई ३ वर्ष छ महिना कैदसहित ५० हजार जरिवाना फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी सूर्यप्रसाद भण्डारीले जानकारी दिए।

गाउँपालिकाको अघिल्लो कार्यकालमा निसीखोलाको वडा नम्बर ६ को अध्यक्ष रहेका घर्ती २०७७ साल असार १२ गते ८० किलो गाँजासहित आफ्नै घरबाट पक्राउ परेका थिए।

बुर्तिबाङ बजारमा गाँजा खाने समूहलाई समातेपछि गाँजा आपूर्ति गर्ने व्यक्तिको खोजी गर्ने क्रममा प्रहरी घर्तिकहाँ पुगेको थियो। घर्ती गत निर्वाचनमा निसीखोला गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका थिए।

पुष १९, २०७९ मंगलबार ०९:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।