‘बुवाको दिएको अन्तिम उपहारको रूपमा ‘अन्तिम संस्कार’लाई लिएको छु’

‘बुवाको दिएको अन्तिम उपहारको रूपमा ‘अन्तिम संस्कार’लाई लिएको छु’

काठमाडौं । क्याप्टेन तथा अभिनेता विजय लामाले चलचित्र ‘अन्तिम संस्कार’लाई आफ्नो बुवाले दिएको अन्तिम उपहारको रूपमा लिएको बताएका छन्।

बुवाको अन्तिम संस्कार गरिरहँदा ‘अन्तिम संस्कार’ चलचित्रमा आवद्ध भएको स्मरण गर्दै उनले यसकारण पनि चलचित्रसँग भावनात्मक सम्बन्ध रहेको बताए।

‘मलाई बुवाले नै चलचित्र क्षेत्रमा ल्याउनुभएको थियो, उहाँ संसारबाट बिदा हुँदा पनि मलाई चलचित्र दिएर जानुभयो,’ उनले भने, ‘अन्तिम संस्कारलाई म मेरो बुवाले दिएको अन्तिम उपहारका रुपमा लिएको छु।’

‘अन्तिम संस्कार’ आइरहेको भन्दा बिल्कुलै फरक चलचित्र रहेको दाबी गर्दै उनले निर्माता, निर्देशक र कलाकारहरूले समेत निकै चुनौती मोलेर चलचित्रमा काम गरेको बताए।

आफूले हरेक चलचित्रमा केही फरक खोज्ने गरेको र ‘अन्तिम संस्कार’ मा त्यो कुरा पाएपछि काम गरेको उनले दाबी गरे।

‘कलाकार भएपछि केही फरक गर्नुपर्छ, केही चुनौती मोल्न सक्नुपर्छ,’ उनले भने, ‘यो खालको चलचित्रमा काम गर्न जो–कोही नेपाली कलाकारले आँट गर्न सक्दैनन्।’

हिमालपारीको जिल्ला मुस्ताङमा माइनस तापक्रममा १८ देखि २१ घण्टासम्म खटिएर चलत्रिको छायांकन भएको लामाले स्मरण गरे।

पुष १९, २०७९ मंगलबार ०८:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।