मौसमी फ्लुका बिरामी बढे : स्वाइन फ्लु र हङकङ फ्लुले मिर्गौला र कलेजोमा असर गर्ने, ख्याल नगरे ज्यान जाने जोखिम
काठमाडौं : चिसो बढेसँगै केही दिनयता मौसमी फ्लुका बिरामीको सङ्ख्या समेत बढ्न थालेको छ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन समुदायस्तरमा मौसमी फ्लु सङ्क्रमित व्यक्तिको सङ्ख्या व्यापक देखिएको बताउँछन्।
टेकु अस्पतालमा समेत मौसमी फ्लुका बिरामीको चाप बढ्न थालेको उनले जानकारी दिए।
‘पछिल्लो केही दिनयता अस्पताल आउने मौसमी फ्लुका बिरामी फाट्टफुट्ट देखिएका छन्’, डा. पुनले भने, ‘अस्पतालमा आउनेको सङ्ख्या फाट्टफुट्ट देखिए पनि समुदायमा फ्लु व्यापक फैलिएको देखिन्छ।’
परोपकार प्रसूति तथा स्त्री रोग (प्रसूति गृह) अस्पतालका फिजिसियन डा. सुनिल शर्मा आचार्य पनि रुघाखोकी, ज्वरो, घाँटी दुख्ने, शरीर दुख्ने, टाउको दुख्ने जस्ता समस्या भएर अस्पतालको ओपीडीमा पुग्ने बिरामीको चाप बढिरहेको बताउँछन्।
‘रुघाखोकी अहिले पिक नै छ’, डा. आचार्यले भने, ‘गर्भवतीमा पनि उल्लेख्य रूपमा बढेको छ मौसमी फ्लु।’
सोमबार मात्रै प्रसूति गृहको ओपीडीमा करिब १० जना मौसमी फ्लुको लक्षण भएका गर्भवती महिलाको स्वास्थ्य जाँच गरेको उनले सुनाए।
वीर अस्पतालका उपनिर्देशक तथा छाती रोग विशेषज्ञ डा. प्रज्वल श्रेष्ठले अस्पतालको ओपीडीमा मौसमी फ्लुका बिरामीको चाप दुई सातायता बढिरहेको जानकारी दिए।
‘चिसो बढेसँगै ओपीडीमा खोकी लाग्ने, घाँटी खसखसाउने, श्वास फेर्न गाह्रो हुने जस्ता मौसमी फ्लुका बिरामी बढिरहेका छन्’, डा. श्रेष्ठले भने।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका इपिडियोलोजी तथा महामारी व्यवस्थापन शाखा प्रमुख डा. अभियान गौतम पनि कयौँ फ्लु सङ्क्रमित बिरामी त परीक्षणको दायरामा नै नआउने गरेको बताउँछन्।
डा. गौतम फ्लु सङ्क्रमण बढ्ने मौसम भएकाले सङ्क्रमित बढे पनि सामान्य रुघाखोकीको रूपमा लिने व्यक्तिको सङ्ख्या पनि कम नरहेको बताउँछन्।
‘सिजन यही हो’, डा. गौतमले भने, ‘फ्लु टेष्ट गर्नेको सङ्ख्या कम हुन्छ।’
सधैँ सताउने फ्लु
मौसमी इन्फ्लुइन्जा एक किसिमको भाइरस सङ्क्रमण हो। इन्फ्लुइन्जालाई बोलिचालीको भाषामा ‘फ्लु’ भनेर चिनिन्छ।
डा. पुनका अनुसार नेपालमा सामान्यतया जाडो (जाडोको सुरुवात तथा अन्त्य) र मनसुनको समय गरी दुई मौसममा फ्लु सङ्क्रमण बढी देखिने गरेको छ।
तर, नेपालजस्तो भौगोलिक विविधता भएको मुलुकमा अन्य मौसममा समेत फ्लु देखिने गरेको उनी बताउँछन्।
'ए', 'बी', 'सी' र 'डी' गरी चार प्रकारका इन्फ्लुइन्जा हुने डा. पुनले जानकारी दिए।
इन्फ्लुइन्जा मौसमअनुसार देखिन्छन्। त्यसैले इन्फ्लुइन्जालाई मौसमी ‘फ्लु’ भनेर समेत चिनिन्छ।
सामान्यतया इन्फ्लुइन्जा 'डी' जनावरसँग सम्बन्धित हुन्छ। ‘ए’, ‘बी’, ‘सी’ भने मानिमा देखिँदै आएको उनी बताउँछन्।
'सामान्यतया ‘सी’ ले कडा रूप लिएको पाइँदैन', डा. पुनले भने, '‘ए’ र ‘बी’ इन्फ्लुइन्जा भाइरसले कडा रूप लिन सक्छ।’
‘ए’ इन्फ्लुन्जाअन्तर्गत स्वाइन फ्लु, वर्ड फ्लु, हङकङ फ्लुलगायत पर्ने डा. पुन बताउँछन्।
डा. पुनका अनुसार स्वाइन फ्लु र हङकङ फ्लु सामान्यतया चिनिने इन्फ्लुइन्जाका नाम हुन्। स्वाइन फ्लु र हङकङ फ्लु दुवै इन्फ्लुइन्जा भाइरस हुन्। स्वाइन फ्लुलाई ‘एच वान एन वान पीडिएम–०९’ भनिन्छ। हङकङ फ्लुलाई ‘एच थ्री एन टु’ नामले चिनिन्छ।
यी दुवै ‘ए’ इन्फ्लुइन्जाअन्तर्गत पर्छन्। दुवै प्रकारका इन्फ्लुइन्जा कडा रूपमा देखिन सक्छन्।
नेपालमा पछिल्ला वर्षहरूमा स्वाइन फ्लु र हङकङ फ्लु देखिँदै आएको डा. पुनले बताए। त्यसैगरी इन्फ्लुइन्जा ‘बी’ को तुलनामा ‘ए’ बढी देखिँदै आएको उनले बताए।
समयमा नै उपचार नगरेको खण्डमा इन्फ्लुइन्जाको सङ्क्रमणका कारण निमोनिया भई स्वास्थ्य जटिलता निम्तिएर बिरामीको ज्यान समेत जानसक्ने डा. पुन बताउँछन्।
नेपालमा बर्सेनी यी दुवै किसिमका इन्फ्लुइन्जाका बिरामी टेकु अस्पतालमा पुग्ने गरेको डा. पुनले सुनाए। यस्तो लक्षण भएका कयौँ बिरामी 'रुघाखोकी त हो नि!' भनेर अस्पतालसम्म नपुग्ने भएकाले मौसमी फ्लु सङ्क्रमित व्यक्ति व्यापक बढिरहेको डा. पुनको आकलन छ।
रुघाखोकी र ज्वरोले ग्रस्त भए ज्यानै जाने जोखिम
स्वाइन फ्लु र हङकङ फ्लुका लक्षण उस्तै हुने चिकित्सक बताउँछन्। स्वास्थ्य परीक्षणपछि मात्रै स्वाइन फ्लु र हङकङ फ्लु हो वा होइन भन्ने पत्ता लगाउन सकिन्छ।
यस्ता मौसमी फ्लुको सङ्क्रमण भएको खण्डमा अत्यधिक ज्वरो आउनसक्ने डा. पुनले बताए। १००.४ डिग्री फरेनहाइटभन्दा धेरै ज्वरो आउन सक्ने उनी बताउँछन्।
डा. पुनका अनुसार यस्ता मौसमी फ्लुमा विशेषगरी सुख्खा खोकी लाग्ने, टाउको दुख्ने, शरीर दुख्ने, नाक बन्द हुने, घाँटी ख्याप्प बस्ने तथा दुख्ने, छाती दुख्ने, आँखाको गेडी दुन्ने, रुघाखोकी लाग्नेजस्ता लक्षण देखिन्छन्।
कतिपयलाई भने पखाला लाग्छ। विशेषगरी बालबालिकामा बान्ता हुने तथा पखाला लाग्ने समेत लक्षण देखिने गरेको चिकित्सक बताउँछन्।
चिकित्सकका अनुसार स्वाइन फ्लु र हङकङ फ्लुको सङ्क्रमण भएका व्यक्तिमा मिर्गौला र कलेजो लगायतका शरीरका अङ्गमा नकारात्मक असर पर्छ।
निमोनियालगायतका कारण शरीरमा जटिलता निम्तिएर शरीरका अङ्गले काम नगरी (मल्टी अर्गान फेलियर) भएर व्यक्तिको मृत्यु समेत हुनसक्ने डा. पुन बताउँछन्।
उनले भने, ‘धेरैजसो व्यक्तिमा स्वाइन फ्लु र हङकङ फ्लुका कारणले निमोनिया भएर ज्यान गएको देखिन्छ।’
निमोनियाका कारण श्वासप्रश्वासमा समस्या निम्तिई व्यक्तिको ज्यानै जानसक्नेतर्फ उनी सजग गराउँछन्।
बालबालिका तथा पाको उमेरका व्यक्ति, दम तथा श्वासप्रश्वासको समस्या भएका व्यक्ति र दीर्घ रोगको समस्या भएका व्यक्तिमा मौसमी फ्लुको जोखिम बढी हुने चिकित्सक बताउँछन्।
यस्ता छन् सर्ने माध्यम
सुरुमा सुँगुरबाट मानिसमा सरेको भनिएको स्वाइन फ्लु पछि मानिस–मानिसबीच एक अर्को व्यक्तिमा सर्ने गरेको चिकित्सक बताउँछन्। हावाको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा फ्लु सर्दै फैलन्छ।
चिकित्सकको मतअनुसार सङ्क्रमित व्यक्तिले हाछ्युँ गरेको ठाउँमा अर्को व्यक्तिले हातले छाएर त्यो हात मुख वा आँखामा पुगेको खण्डमा अर्को व्यक्तिमा पनि मौसमी फ्लु सर्ने जोखिम हुन्छ।
त्यसैगरी सङ्क्रमित व्यक्तिसँग प्रत्यक्षरूपमा नजिक रही आमनेसामने रहेर कुराकानी गर्दा, खोक्दा तथा हाछ्युँ गर्दा फ्लु सङ्क्रमण हावामा फैलिएर अर्को व्यक्तिमा सर्ने जोखिम हुने चिकित्सक बताउँछन्।
सङ्क्रमित व्यक्तिले छोएको ढोकाको ह्यान्डिल, रेलिङ जस्ता ठाउँमा अर्को व्यक्तिले समाएको खण्डमा समेत स्वाइन फ्लु र हङकङ फ्लु सर्ने जोखिम हुन्छ।
सङ्क्रमितले समाएको टीभीको रिमोट, कम्प्युटरको किबोर्ड, भाँडाकुँडा तथा सामान समाउँदा अर्को व्यक्तिमा फ्लु सर्ने जोखिम हुन्छ।
सार्वजनिक सवारी साधन तथा भीडभाडबाट समेत फ्लु सर्ने जोखिम हुने भएकाले जनस्वास्थ्यका मापदण्ड अपनाउन चिकित्सकको सुझाव छ। मास्क लगाउनुपर्ने हुन्छ।
खोप लगाए जोखिम कम
यस्ता मौसमी इन्फ्लुइन्जाबाट बच्न फ्लुविरुद्धको खोप लगाउन सकिने डा. पुन बताउँछन्। खोप लगाएको खण्डमा सङ्क्रमणबाट करिब ५० प्रतिशतभन्दा बढी बच्न सकिने चिकित्सक बताउँछन्।
सामान्यतया सङ्क्रमण हुनुअघि नै खोप लगाउनुपर्ने हुन्छ।
‘फ्लुविरुद्धको खोपले शरीरमा भाइरसविरुद्ध लड्ने रोग प्रतिरोधात्मक क्षमता बढाउँछ’, उनले भने।
डा. पुनका अनुसार सामान्यतया ६ महिनाभन्दा माथिको उमेर समूहका व्यक्तिले फ्लुविरुद्धको खोप लगाउन सक्छन्। त्यसैगरी गर्भवती, दम, क्यान्सरको समस्या भएका व्यक्ति, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका, दीर्घरोगको समस्या भएका जस्ता व्यक्तिले खोप लगाउन सक्छन्।
सामान्यतया वर्षमा एक पटक यस्तो खोप लगाउने सकिने चिकित्सक बताउँछन्। नेपालमा फ्लुविरुद्धको खोपको उपलब्धता रहेको डा. पुन बताउँछन्।
विशेषगरी पाको उमेका व्यक्ति र दीर्घरोगीले निमोनियाको खोप पनि लगाउन सकिने डा. आचार्य बताउँछन्।
लक्षणअनुसारको उपचार
हावाको माध्यमबाट छिटो फैलने भएकाले मौसमी फ्लु रोग प्रतिरोधात्मक कमजोर भएको व्यक्तिमा सरेको खण्डमा बढी गलाउने जोखिम हुन्छ।
सङ्क्रमित व्यक्तिभन्दा करिब ६ फिट टाढा बस्न र भीडमा नहिँड्न चिकित्सकको सुझाव छ। परिवारका सदस्यलाई मौसमी फ्लु सङ्क्रमण भएको खण्डमा अलग्गै बस्नुपर्ने हुन्छ।
सङ्क्रमितले प्रयोग गरेका सामान अन्य व्यक्तिले छुनु हुँदैन। यसबाट बच्नका लागि कुनै ठाउँमा हिँडडुल गर्दा पटकपटक नाक, मुख र आँखामा हात लगाउनु हुँदैन।
साबुन पानीले राम्रोसँग हात धोएको खण्डमा भाइरस सङ्क्रमणबाट बच्न सकिने चिकित्सकको सुझाव छ।
सङ्क्रमण भएको खण्डमा भने गेडागुडी, झोलिलो पदार्थ तथा पानी र पौष्टिक तत्वयुक्त खाद्य पदार्थ खान चिकित्सकको सुझाव छ।
यस्तो समयमा आराम गर्नुपर्ने हुन्छ। चिसोबाट जोगिन र पोषिलो खानपान गर्न डा. आचार्यको सुझाव छ।
चिकित्सकको परामर्शमा औषधि उपचार गर्नुपर्ने हुन्छ। सामान्यतया फ्लुविरुद्धको विशेष औषधि नभएकाले सङ्क्रमितमा भएका लक्षणको आधारमा उपचार गरिन्छ।
तर, सङ्क्रमण कडा भएको खण्डमा ओसेलटेमिभिर नामक एन्टी भाइरल औषधि प्रयोग गर्न सकिने डा. पुन बताउँछन्।
यो औषधिले मौसमी फ्लुको वृद्धिविकास हुन नदिन सहयोग गर्ने उनले बताए। यो औषधि विशेषगरी जोखिम समूहका सङ्क्रमितलाई दिइन्छ।
पुष १९, २०७९ मंगलबार ०७:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।