कुर्मी मृत्यु प्रकरण: गृहमन्त्री लामिछानेले दिए थप अनुसन्धान गरी रिपोर्ट पेस गर्न निर्देशन
काठमाडौं। गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मी मृत्यु प्रकरणका विषयमा थप अनुसन्धान गरी सत्यतथ्य प्रतिवेदन पेस गर्न प्रहरीलाई निर्देशन दिएका छन्। लामिछानेले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) लाई चाँडोभन्दा चाँडो प्रतिवेदन आउने गरी स्वतन्त्रापूर्वक उक्त घटनाको छानबिन गर्न निर्देशन दिएका हुन्।
गृहमन्त्रालयमा आज (सोमबार) गृहसचिव विनोदप्रकाश सिंह, प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलगायत उच्च सुरक्षा अधिकारीसहितको छलफलमा मन्त्री लामिछानेले उक्त निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।
उनले यस घटनामा प्रहरीले गरेको अनुसन्धानको अहिलेसम्मको रिपोर्टबारे जानकारी समेत लिएका थिए। लामिछानेले निर्मला कुर्मीको न्यायका लागि अनशनरत महिला अधिकारकर्मी रुवी खानलाई टेलिफोन गरी अनशन स्थगन गरी अनुसन्धानलाई सहज बनाइदिन आग्रह पनि गरेका छन्।
पुष १८, २०७९ सोमबार २१:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।