चौथो दल बन्न एकीकृत समाजवादी र जसपा पार्टी एकता गर्ने छलफलमा

चौथो दल बन्न एकीकृत समाजवादी र जसपा पार्टी एकता गर्ने छलफलमा

काठमाडौंः प्रतिनिधि सभामा चौथो दल बन्न १२ सिट रहेको जनता समाजवादी र १० सिट रहेको एकीकृत समाजवादीबीच पार्टी एकताको छलफल सुरु भएको छ। यी दुवै दल मिल्दा अहिलेको राष्ट्रिय स्वतन्त्र पार्टी भन्दा २ सिट बढी हुन्छ भने एकीकृत समाजवादी राष्ट्रिय दल समेत बन्नेछ।

सरकारबारे धारणा बनाउन बसेको एकीकृत समाजवादीको पोलिट्ब्युरो बैठकपछि पार्टी नेता जगन्नाथ खतिवडाले दुवै पार्टीबीच एकताका लागि छलफल अगाडि बढेको पुष्टि गरे।

जसपासँग पार्टी एकता गर्न छलफल अगाडि बढेको हो भन्ने पत्रकारको प्रश्नमा खतिवडाले हाँस्दै भने, ‘कति राम्रो कुरा। छलफल अगाडि बढेको छ।’  

निर्वाचन अगाडिसम्म यी दुवै दल एकै गठबन्धनमा रहे पनि जसपा पछि एमाले गठबन्धनमा गएको थियो। एमाले गठबन्धनमा गए पनि जसपाका अध्यक्ष उपेन्द्र यादव पराजित भए।

यता समानुपातिकका लागि आवश्यक तीन प्रतिशत मत नपाए पनि एकीकृत समाजवादीले प्रत्यक्षमा १० सिट जितेको थियो। माओवादी गठबन्धन छाडेर एमालेसँग मिलेपछि जसपाले सरकारलाई समर्थन गरे पनि सरकारमा गएको छैन। पार्टी छलफलमै छ।

उता सरकारलाई समर्थन नगरेको एकीकृत समाजवादीमा पनि सरकारलाई समर्थन गर्ने या नगर्ने र सरकारमा जाने र नजाने बारे छलफल जारी छ।

प्रदेश २ को सरकार सहितकाे भागबन्डाका लागि जसपा प्रयासरत छ। उता सरकारलाई समर्थन गरेर सहभागी भएको जनमत पार्टीले पनि प्रदेश २ को नेतृत्व दाबी गरिरहेको छ। जसपाबाट विभाजित लोकतान्त्रिक समाजवादी पार्टी ४ सिटमा खुम्चिएको छ। उ कांग्रेस गठबन्धनमै छ।

पुष १८, २०७९ सोमबार २०:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।