कर्णाली प्रदेशसभाको पहिलो बैठकः कर्णालीकाे विकासका लागि सबै दल एकजुट हुनुपर्नेमा जाेड

कर्णाली प्रदेशसभाको पहिलो बैठकः  कर्णालीकाे विकासका लागि सबै दल एकजुट हुनुपर्नेमा जाेड

सुर्खेतः कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठक सोमबार बसेको छ। प्रदेशसभामा प्रतिनिधित्व गर्ने एक स्वतन्त्र र पाँच राजनीतिक दलका नेताहरूले बैठकमा आ–आफ्ना दलगत धारणा राखेका छन्।

नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता एवम् मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको प्रमुख प्रतिपक्षी भनेको रोग, भोक र गरिबी भएको बताए। मुख्यमन्त्री शाहीले कर्णालीको प्रतिपक्षलाई मेटाउन सबै एक भएर अघि बढ्नुपर्ने बताए।

‘हामी विधायक हौं, हाम्रो काम भनेको राम्रा ऐन कानुन बनाउने हो, हामीले राम्रा ऐन कानुन बनाउन सकेनौं भने हाम्रो प्रदेशलाई समृद्ध बनाउन सक्दैनौं’, शाहीले भने, ‘प्रदेशसभा सदस्यहरूले कर्णालीवासीका लागि काम गरेका छन् भन्ने कुरा देखाउने गरी अगाडि बढ्न आवश्यक छ।’ 

यस्तै, एमाले संसदीय दलका नेता यामलाल कँडेलले कर्णालीमा विगतमा सरकारका क्रियाकलापका कारण प्रदेश संरचनाको औचित्यमाथि जनताले प्रश्न उठाइरहेकाले अबको कार्यकालमा सबै गम्भीर भएर विगतको समीक्षा गर्नुपर्ने बताए।

‘विकास गर्नेभन्दा पनि खाने प्रचलन कर्णालीमा व्याप्त छ। पाँच वर्ष प्रदेश संरचना चलाउँदा पनि कर्णालीका खराब सूचाकांकहरूमा सुधार अझै आएन, यसको जिम्मेवारी हामी सबैले धेरै थोरै लिनैपर्छ,’ उनले भने ।

त्यसैगरी, माओवादी केन्द्र संसदीय दलका नेता राजकुमार शर्माले संघीयतालाई बचाउनु सबै सांसदहरुको दायित्व रहेको बताए। 

बैठकले कर्णाली प्रदेशसभा नियमावली २०७९ को नियम ११ को उप नियम १ बमोजिम सभामुख र उपसभामुखको अनुस्पस्थितमा बैठकको अध्यक्षता गर्ने प्रयोजनका लागि ३ जनाको नाम अनुमोदन गरेको छ।

जसमा कांग्रेसबाट हिक्मतबहादुर विष्ट, माओवादी केन्द्रका भीमप्रकाश शर्मा र नेकपा एमालेबाट जितबहादुर मल्ल रहेका छन्। आगामी प्रदेशसभा बैठक पुस २५ गते सोमबार दिउँसो १ बजे बस्नेछ।

पुष १८, २०७९ सोमबार १९:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।