गण्डकी प्रदेश सभाको पहिलो बैठकमा दुई अध्यादेश पेस
पोखराः गण्डकी प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठकमा दुई वटा अध्यादेश पेस भएको छ। सोमबार बसेको दोस्रो कार्यकालको पहिलो बैठकमा गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री बिन्दुकुमार थापाले अध्यादेश पेस गरेका हुन्।
‘गण्डकी प्रदेशको निजामती सेवाको सञ्चालन, सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ र ‘स्थानीय सेवाको गठन, सञ्चालन, सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ संसदमा पेस गरिएकाे हाे।
यसअघि,अध्यादेश तयार भएपनि तत्कालै निर्वाचन घोषणा गरिएकाले संसदमा पेश हुन पाएका थिएनन्। अहिले तयारी अवस्थामा रहेका दुई अध्यादेश मन्त्री थापाले पहिलो बैठकमै पेस गरेका हुन्।
प्रदेशसभाको पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य मित्रलाल बस्यालले गरेका थिए। उनी आज अध्यादेश पेस गर्ने मन्त्री बिन्दुकुमार थापा भन्दा दुई दिनले जेठा रहेका छन्। संसदको अर्को बैठक पुस २९ गते बस्ने कार्यसूची रहेको छ।
पुष १८, २०७९ सोमबार १९:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।