चोखाछेंमा ८५ वर्षदेखि चलिरहेकाे पेन्टिङ पसलका चित्रकार केशरमान : उनका बा 'फस्ट' थिए, उनी 'लास्ट' हुनसक्छन्
हनुमानढोका हुँदै छेत्रपाटी जाने बाटोको चोखाछें गल्लीको साँघुरो घर। अनि त्यहाँ रहेको चिसो कोठा। घरलाई थामिएर बसेका केही थामहरू। भित्ताभरि रंग र विभिन्न पुरानो तस्बिरहरू। अनि त्यही तस्बिरलाई आफ्नो क्यानभासमा उतारिरहेका, केशरमान चित्रकार। कुर्सीमा बसेर, एउटा खुट्टा पलेंटी कसेर, अर्को खुट्टा भुइँमा टेकेर उनी त्यहाँ बसुन्जेल एकनास आफ्नो हात क्यानभासमा नै चलाइरहन्छन्।
उनी आफूलाई विशुद्ध व्यावसायिक कलाकार भन्ने गर्छन्। किनभने उनीसँग अहिले आफूले कोरेको एउटा पनि चित्र छैन रे। जति पनि चित्र बनाए सबै बेचेर भ्याए। अब पनि धमाधम अर्डर आएका छन्। बिहान उठ्ने बित्तिकै आफ्नो नित्यकर्म सकेर उनी स्वम्भुको डाँडा उक्लिन भ्याउछन्।
अनि घर आएपछि चित्र बनाउन थाल्छन्। दिउँसो तीन बजे पछिको समय भने पसलमा दिन्छन्। साँझ ७ बजे त्यहाँबाट काम सक्काएपछि मात्र आराम गर्छन्। उनले यसरी आफ्नो दिन बिताउन थालेको धेरै भइसक्यो।
‘शनिबार चैं दिनभर घरमै हुन्छु। अनि अरू बार चैं दिउँसो २ बजेसम्म घरमा हुन्छु। पहिला पहिला त बिहान ५ बजेदेखि बेलुका ९/१० बजेसम्म काम हुन्थ्यो। अहिले त बुढेसकाल लागेर घट्यो नि,’ उनले आफ्नो दिनचर्याको बारेमा सुनाए।
उमेरले ६७ वर्ष पार गरेका उनी अहिले पनि उत्तिकै जोसिलो देखिन्छन्। ‘आफूलाई चैं बुढो जस्तो लाग्दैन। तर, उमेरले त भनिसक्यो के गर्नु,’ उनी हाँस्दै भन्छन्।
‘व्यावसायिक कला’
उनको पसलमा गाडीको नम्बर प्लेट लेख्ने, ब्यानर बनाउने, साइन बोर्ड बनाउने लगायतका सम्पूर्ण काम गरिंदै आएको छ। अहिले तुलनात्मक रुपमा यो काम कम भए पनि पहिला भने पसलको विशेषता भनेको यीनै काम थिए।
‘पहिला त सबै हातैले लेख्थ्यो नि त। अहिले नयाँ-नयाँ प्रविधि आएर सक्किदै गयो,’ उनले सुनाए, ‘पहिला भए त यस्तो आर्टको काम आयो भने हाम्रो फुर्सद छैन भनेर पठाइदिन्थ्यो। अहिले त यसमै फोकस हुनपरेको छ।’
पसल चलिरहेको ठ्याक्कै ८५ वर्ष भयो भन्ने गर्छन् उनी। त्यस समय धेरै कलाकारहरू भए पनि उनीहरू व्यावसायिक रुपमा अगाडि आउन नसक्दा अनि नचाहँदा आफ्नो बाबुले पसल नै खोलेको उनी सुनाउछन्।
‘काठमाडौंको मात्र होइन नेपालकै फर्स्ट हो।’ उनले हाँस्दै सुनाए, ‘व्यावसायिक रुपमा यस्तो पसल मेरो बाले मात्र गरेको पहिला आर्टिस्टहरू त कति छन् छन् नि। उनीहरू घरघरमा बसेर गर्ने के। पसल खोलेर नबस्ने। उनीहरू बाहिर नआउने। त्यस्तो बेलामा हाम्रो बाले चैं पसल राखेको। त्यै भएर व्यावसायिक रुपमा हाम्रो बा फर्स्ट।’
वरपर त्यस्तो पसल नहुँदा ग्राहकहरू अत्यधिक आउने गरेको उनी अहिले पनि सम्झन्छन्। घरबाट सुरु भएको पसललाई अहिले पनि उनीसँगै उनको दाइले निरन्तरता दिइराखेका छन्। अनि यता पनि पसल राख्न थालेको भने ४५ वर्ष भयो रे।
‘अब चैं दाइ र म मात्र छौं। अरू छैन। अब हामी सक्केपछि सक्कियाे,’ उनले भने। केशरमानको एउटा भाइ पनि छन्। तर, उनले भने अर्कै व्यवसाय गर्छन्।
अहिले बुढेसकाल लागेको समयमा मान्छेहरूले चित्रकला नै खोज्दा आफूलाई पनि सहज भएको बताउँछन् उनी। ‘पहिला एकदम दौडधुप गर्नुपर्थ्यो। अहिले त एक ठाउँमा बसेर आनन्दले गर्दा हुन्छ। बुढेसकालमा ठिक छ। गर्न मन लाग्यो गर्याे। गर्न मन लागेन छोड्यो,’ मुस्कुराउँदै उनले भने।
उनले जे जति पनि चित्रकला सम्बन्धी ज्ञान र सिप सिकेका छन्, सबै आफ्नो बाबुबाट सिकेका हुन्। सानोमा आफ्नो बुबाले गरेको काम हेर्दा हेर्दै, अनि उनले अराएको काम गर्दा गर्दै सबै काममा उनको हात बसिसकेको उनले पत्तो पनि पाएनन्।
‘चित्रकार हुने इच्छा त थिएन’
काठमाडौंको बासिन्दा, त्यहीं माथि व्यापारी भएपछि उनको बाल्यकाल रमाइलोसँग नै बित्यो। एसएलसीसम्म पढे पनि रिजल्ट राम्रो नआएपछि उनी काममै झन् व्यस्त हुन थाले। पढाइमा रुचि जगाउन सकेनन्, उनले। नत्र चित्रकला उनलाई खासै मन नपरेको रहेछ।
‘सानोमा चित्रकार हुने इच्छा त थिएन। अब गर्नुपर्छ भनेर गर्दागर्दै भयो,’ उनले सानो स्वरमा भने। सँगसँगै आफूलाई इलेक्ट्रोनिक सम्बन्धी काम गर्ने रुचि भएको समेत उनले बताए।
‘पहिला इच्छा त इलेक्ट्रोनिक साइडमा थियो। अहिले पनि इच्छा त छ। अब त्यो कहाँ पूरा हुनु। दिमाग त्यस्तो हो मेरो।’ मुस्कुराउँन खोज्दै उनले भने, ‘अब यसमा गर्याे। यो पनि ठिकै छ। इलेक्ट्रोनिकको कोसिस त टाकटुक आफै नै गर्छु नि। घरमा केही बिग्र्याे भने गर्ने आफैले हो।’
जनै खटिराको लागि सिंह लेख्ने काम पनि गर्छन् उनले। पहिलादेखि नै रंगसँग खेल्दै आएका उनलाई रंग सम्बन्धी केही ज्ञान त हुने नै भयो। त्यसै अनुरूप उनले जनै खटिरा आएको मान्छेको शरीरमा विभिन्न रंगले सिंह पनि बनाइदिन्छन्।
उनले भने,‘सिंह लेख्यो भने चैं खटिरालाई सिंहले खान्छ भन्छ। तर, त्यस्तो होइन। त्यो रंग औषधि हो। सिंह लेख्ने भने पनि खास रंग लगाउने हो त्यो। सेतो, रातो, कालो रंगको हुन्छ। त्यसमा एउटा केमिकल हुन्छ। त्यसले निको गर्ने हो।’
‘पहिलाको मान्छेहरूलाई थाहा हुँदैनथ्यो। जिंक अक्साइड भन्ने केमिकल हुन्छ। त्यो चैं रंगमा पनि पाइन्छ। त्यै भएर सबै जना आउँथ्यो। असारको समयमा धेरै आउछ त्यस्तो लेख्न। पानी पर्ने मौसम भएको कारण दिनकै ५/१० जना आउँछ। अहिले जाडोको समयमा त धेरै आउँदैन,’ उनले सुनाए, ‘त्यो निको हुन कसैको अलि समय लाग्छ। कसैको छिटो पनि हुन्छ। धेरै पाकिसक्यो भने गार्हाे हुन्छ।’
सिंह लेख्न को लागि अहिले भने उनी तीन सय रुपैयाँ लिने गर्छन्। तर, पहिला भने बिरामीले इच्छा अनुसारले जति दियो त्यति मात्र लिने गर्थे रे।
चित्रकाे लेखाजोखा छैन
देशको विभिन्न भूभागबाट ग्राहकहरू आउने भए पनि धेरै जसो चाहिं पोखराबाट आउने गर्छन्। ‘चर्चित थ्यो नि हाम्रो पसल। बाले त ‘चित्रकारीको हरेक काम यहाँ तयार गरिन्छ’ भनेर पसलमा नै राखेको थ्यो।’
आफ्नो कामलाई पुर्ख्यौली पेशा भनेर उनले भने पनि उनको हजुरबाले भने यो काम गरेनन्। उनको हजुरबा भने राणा कालमा टेलर मास्टर थिए रे।
राणाहरूको घर-घर गएर कपडा सिलाउने। चित्रकला सम्बन्धी कामको सुरुवात गर्ने परिवारमा उनको बुबा नै हुन्। तर, अब उनको दाइ र उनीसँगै यो काम पनि परिवारबाट सदाको लागि बिदा हुने पक्का जस्तै भएको छ।
केशरमानलाई आफूले बनाएको पहिलो चित्र, महँगो चित्र, सस्तो चित्र, राम्रो, झुर कुनै पनि चित्रको बारेमा याद छैन। यहाँसम्म कि अहिलेसम्म कति चित्र कोरे भन्ने संख्या पनि उनले राखेका छैनन्। ‘हजारौं हजार बनाइसक्यो। एकदिनमै तीनटासम्म बनाइसक्यो। याद गरेर साध्य छैन।’
आफू व्यावसायिक चित्रकार भएको कारण जसरी हुन्छ चित्र बनाइसकुँ भन्नेमा मात्र ध्यान भएको उनी बताउने गर्छन्।
‘मलाई मैले बनाएको सबै मन पर्छ। कुनै भने मन पर्दैन, नराम्रो पनि निस्किन्छ। अलि सस्तो गर्देउ न भन्यो भने नराम्रो निस्किन्छ,’ उनी हाँस्दै भन्छन्, ‘कम पैसा दियो भने दिमागमा त्यै बस्छ। त्यस्तो बेलामा तीन दिन लाग्ने एक दिनमै पनि बनाएको छु।’
पहिला एउटा चित्र बनाएको २/३ हजार लिने केशरमान अहिले भने ७/८ हजार लिने गर्छन्। उनले अहिलेसम्म सबैभन्दा महंगाेमा बेचेको चित्र भनेकाे ५०/६० हजारसम्मको हाे। उनले कोलाज बाहेक सबै मध्यमका चित्रहरू मार्फत आफ्नो कला देखाइसके।
जुन चित्र बनाउन बढी समय लाग्यो उनको लागि त्यही नै गार्हो चित्र हो रे। त्यो महँगो पनि हुन्छ। ‘दुई दिनमा सक्ने चित्र पाँच दिन लाग्यो भने त्यो गार्हो भयो अनि पैसा पनि महँगो भयो।
अहिलेसम्म धेरै समय लागेको एक हप्ता जति छ। यसमा लगानी भनेकै समय हो। समय दिएको अनुसार कमाइन्छ। त्यै भएर अल्छी गर्नु चैं हुँदैन।’
सजावटमा आकर्षित भए ग्राहक
पछिल्लो समय विदेशी भन्दा पनि धेरै नेपाली ग्राहक नै बढ्न थालेको उनको अनुभव छ, ‘अहिले नेपालीहरू सजावटमा झन् आकर्षित भैरहेको छ। आफ्नै पेन्टिङ बनाउन दिन्छ कोही। कोही चैं उपहार दिने भनेर बनाउन दिन्छ। धेरैले सजाएर राख्ने रहेछ।’
उनले घरमा गरेको कामको पारिश्रमिक भने दाइसँग बाढ्नु पर्दैन रे। अनि पसलमा भएको आम्दानी चाहिं दुई दाजु भाइबीच बाँडफाँड हुने गर्छ रे। त्यसै अनुसारले उनीहरूले पसलमा आउने समय पनि मिलाएका छन्। आलोपालो गरेर दुईवटै पसलमा उनीहरू आउने जाने पनि गरिरहन्छन्।
उनको घरमा अहिले श्रीमती, छोरा अनि बुहारी छन्। छोराछोरी पनि आफ्नो व्यवसायमा मस्त भइसके। ‘अब केही गर्न बाँकी छैन। उनीहरू पनि ठाउँ-ठाउँमा पुगिसक्यो। अब आनन्दले बुढेसकालमा जति सकिन्छ त्यति गर्ने हो।’
केशरमानले आफ्नो कला अरूलाई सिकाउन भने भ्याएका छैनन्। तर, उनकै पसलमा काम गर्ने एक जना व्यक्तिलाई भने सिकाए। त्यस बाहेक धेरैले उनलाई सिकाउनको लागि आग्रह गरे पनि उनले सिकाउन पाएका छैनन्।
उनले अहिलेसम्म बनाएका चित्रहरूको मात्र संग्रह गर्याे भने पनि एउटा ठूलो संग्रहालय बन्न पुग्छ। ‘ओहो अट्दैन नि, अहिले एउटै ग्यालेरीमा कति धेरै हुन्छ।’
पुष १८, २०७९ सोमबार १८:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।