तीन जनालाई फकाएर सर्वसम्मत संसदीय दलको नेता चुनिए डिल्लीबहादुर

तीन जनालाई फकाएर सर्वसम्मत संसदीय दलको नेता चुनिए डिल्लीबहादुर

दाङ : नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभाको संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी चयन भएका छन्।

कांग्रेसको संसदीय दलको बैठकले चौधरीलाई सर्वसम्मत नेता चुनेको हो। दलको नेताको लागि अबदुल रज्जाक, वीरबहादुर राना र राजु खनालले पनि दाबी गरेका थिए।

आइतबार उमेदवार मनोनयन गर्ने भनिए पनि सहमतिका लागि सोमबार विहानलाई सारिएको थियो। सोमबार विहान दलको नेताको लागि अबदुल रज्जाक, डिल्ली चौधरी, वीरबहादुर राना र राजु खनालले दाबी गरेका थिए। तर पछि सहमति भएको हो।

दलको नेता चयनको लागि कांग्रेस नेता चन्द्र भण्डारी, प्रदेश सभापति अमरसिंह पुनसहित प्रदेश समितिका पदाधिकारी अहिले देउखुरिमै रहेर लगातार छलफल गरिरहेका थिए।

दाङ ३ ‘ख’बाट दोहोरिएका चौधरी हाल प्रदेश सभाको ग्रामीण, पर्यटन तथा शहरी विकास मन्त्री हुन्। मन्त्रीभन्दा अघि उनी प्रदेश सभाको लेखा समिति सभापतिसमेत थिए।

चौधरी २०७०को संविधानसभा सदस्य भएर केही समय राज्यमन्त्री पनि भएका थिए।

यसअघि एमालेले हिजो नै लिला गिरीलाई दलको नेता चुनेको थियो। सोमबार पहिलो प्रदेश सभाको पहिलो बैठक बस्दैछ।

पुष १८, २०७९ सोमबार ०९:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।