गौशाला चोकैको साँघुरो विद्यालय : विद्यार्थीलाई खेल्ने ठाउँ छैन, व्यवस्थापन समितिलाई सटर भाडाको लोभ
काठमाडौं : अत्यधिक सवारी चाप हुने गौशाला चोकको पश्चिमतिर रातो इट्टाको एक भवन छ। बाहिरबाट हेर्दा व्यापारिक भवनजस्तै देखिन्छ। भवनको आकारले नै भित्र कुनै खुल्ला स्थान छैन भनेर ठम्याउन भवनभित्र छिरिरहनु पर्दैन।
तर त्यो कुनै व्यापारिक भवन हैन, ‘श्री मंगलादेवी माध्यमिक विद्यालय’ को भवन हो।
झट्ट हेर्दा विद्यालय जस्तो नदेखिने यो विद्यालय खुलेको ६८ वर्ष भइसक्यो। वि.सं. २०२१ सालमा खुलेको विद्यालय जम्मा १२ आना दुर्इ दाम जग्गामा छ।
पहिला सानो भवन अनि अगाडि खुल्ला चौर थियो। व्यापारिक रूपमा फाइदा हुने भएकाले अगाडिको भागमा भवन बन्यो अनि विद्यार्थीका लागि चाहिने खुला स्थानमा सटर बस्यो।
प्रधानाध्यापक मधुसुदन ढुंगेल पहिला विद्यालयको जग्गा एक रोपनी चानचुन रहेको दाबी गर्छन्। वडा नम्बर ९ को कार्यालय रहेको पुरानो भवन पनि विद्यालयकै भएको र पछि बाटोले गर्दा पनि विद्यालयको जग्गा घटेको उनको भनाइ छ।
कक्षा कोठाहरू साँघुरा छन् तर उनी विद्यार्थीका लागि सबै सुविधा भएको दाबी गर्छन्।
‘बाहिरबाट हेर्दा व्यस्त सडक भएकोले ख्याल हुँदैन। तर, भित्रबाट हेर्दा ठिक छ। कक्षा कोठाको सन्दर्भमा पनि विद्यार्थीहरूको लागि सबै सुविधा छ। चोकमा भएको हुँदा महत्त्पूर्ण ठाउँमा छ,’ उनले भने।
तर, सामान्य खेल गतिविधि गर्नसमेत विद्यालयसँग स्थान छैन। त्यसका लागि विद्यार्थीहरू नजिकैको भण्डारखाल वा सिफलचौर जानुको विकल्प छैन। त्यही भएर विद्यालयले ‘इन्डोर गेम’ बाहेक अन्य गेमहरू धेरै खेलाउँदैन।
‘झट्ट हेर्दा भौतिक रूपले विद्यार्थीहरूलाई ठाउँ छैन कि ! भन्ने लाग्नसक्छ। तर, पढाइको हिसाबले हामीलाई पर्याप्त ठाउँ छ’ उनले पून दाबी गरे।
कक्षा कोठामा भन्दा सटरमा जोड
विद्यालयमा २४ वटा कोठा छन्। तर, कक्षा कोठाको रूपमा जम्मा १३ वटा कोठा मात्रै प्रयोग गरिएको छ। बाँकी कोठा प्रधानाध्यापकको कार्यालय, शिक्षकहरूको कार्यालय, व्यवस्थापन समितिको कार्यालय र साइन्स ल्याबसगै लाइब्रेरीका लागि प्रयोग भएको उनले बताए।
‘हामीले कम्युनिटी हलको रूपमा केहि ठाउँ बनाउदैछौं। त्यस्तै कौसीको सदुपयोग गर्ने पनि सोचिराखेका छौं। त्यो हिसाबले विद्यार्थीहरूको लागि कक्षा कोठा पर्याप्त छैन कि ! भन्न पनि पर्दैन’ उनले बारम्बार खाली ठाउँ नभए पनि अनि तलका कोठा सटर बनाएर भाडामा दिए पनि पर्याप्त ठाउँ भएको पुष्टि गर्ने प्रयास गरिरहे।
‘आदर्शतम कक्षा कोठा’ छैन !
२०७२ सालको भूकम्पले यो विद्यालयको भवनलाई ठूलो असर पारेन। एउटा कोठा केही जीर्ण देखिए पनि त्यसको पुननिर्माण भैसकेको छ।
‘शैक्षिक वातावरणका लागि जुन ‘आदर्शतम कक्षा कोठा’ हुन्छन् त्यस्तो त काठमाडौंमा धेरै कम विद्यालयमा मात्र छ। त्यसको कमि त हाम्रोमा पनि छ। तर, उपलब्धताको हिसाबले पढाइको लागि समस्या नपर्ने न्यूनतम आधार पर्याप्त छ,’ प्रधानाध्यापकले दाबी गरे।
‘व्यस्त सडकको चोकैमा भएकाले गाडीको आवाजले यहाँको विद्यार्थी र शिक्षकहरूलाई असर गरिरहेको छ। तर, रहँदै बस्दै जाँदा त्यो बानी हुने रहेछ’ उनी तर्क गर्छन्।
गाडीकै आवाजले गर्दा पढाइमा समस्या नभएको उनको तर्क थियो। विद्यालयमा अहिले १२ कक्षासम्म पढाइ हुन्छ। जसमा विहानको सिफ्टमा ९– १२ कक्षा र दिउँसो भने नर्सरीदेखि ८ कक्षासम्मको पढाइ हुन्छ।
विद्यालय आउने समयमा सडकमा अत्यधिक चाप भए पनि विद्यालयको गेटमै रहेको गाडीहरूले विद्यार्थीलाई केहि समस्या नभएको तर्क गरिरहे प्रधानाध्यापकले।
केही महिना अघिसम्म विद्यालयको उत्तर ढोकालाई मूल गेट मानिँदै आएकोमा अहिले भने सुरक्षाको कारण देखाउँदै पश्चिम ढोका पनि प्रयोगमा ल्याइएको रहेछ।
‘त्यसबेला केही डर भने पक्कै थियो। तर, भगवान पशुपतिनाथको कृपाले केहि पनि भएको छैन। अहिले प्रवेशद्वार यता (पश्चिम पट्टि)भएको कारण झन् सुरक्षित भएको महसुस गरेका छौं,’ उनले भने।
स्थानीय विद्यार्थी छैनन्
काठमाडौं महानगरका अन्य सामुदायिक विद्यालयमा जस्तै यस विद्यालय पनि अपाङ्ग मैत्री छैन। केही अघि मात्र कक्षा १० मा पढ्ने विद्यार्थीको दुर्घटना भएपछि खुट्टा भाचियो। तर, ती विद्यार्थीको कक्षा कोठा चौथो तल्लामा भएको कारण उनलाई तलमाथि गर्न एकदमै गाह्रो भयो।
उनी एक्लैलाई व्यवस्थापन गर्न नसकिने भन्दै विद्यालयले ‘रेस्ट गर, साथीहरूसँग नोट मागेर पढ भन्दै घर पठायो। विद्यालयको भौतिक संरचना देखेर पनि अपाङ्ग विद्यार्थीहरू भने आफैँ पढ्न नआउने उनले बताए।
विद्यालयमा अहिले जम्मा ३ सय १५ विद्यार्थी छन्। ती मध्ये कुनै पनि विद्यार्थी स्थानीय नभएको प्रअ स्वयं स्वीकार्छन्। नजिकै पशुपति मन्दिर भएकाले त्यहाँका अधिकांश विद्यार्थीहरू मधेसी समुदायका छन् जसको अविभावक गौशालाको फुटपाथ व्यापारीहरू हुन् भने कोहि विद्यार्थी स्वयं कामदार छन्।
‘साना र नयाँ विद्यार्थीहरूको लागि भाषाको समस्या हुन्छ। तर, घुलमिल भएपछि कति नै समय लाग्छ र,’ उनी भन्छन्, ‘अहिले सबै विद्यालयहरूमा विद्यार्थीको संख्या हेर्दा हाम्रोलाई मध्यम भन्न मिल्छ। धेरै कम पनि छैन बढि पनि छैन।’
विद्यालयको क्षमता नै ३५० जना विद्यार्थीको भएको समेत उनले बताए।
विद्यालयमा पछिल्लो समय विद्यार्थीको संख्या बढेको भन्दै दिवा खाजाले यसमा ठूलो भूमिका खेलेको उनको भनाइ छ। तर, दिवा खाजाको रकम समयमै नआएको कारण कक्षा ६ सम्म मात्र खाजाको व्यवस्था गरेको उनले बताए।
महानगरले नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयका कक्षा ८ सम्मकै बालबालिकालाई दिवा खाजाको व्यवस्था गर्ने भनेको छ।
‘हामीले महानगरपालिकाले दिन्छ भनेर पैसा दिनुभन्दा अगाडिनै खाजा खुवाउने अवस्था छैन नि! ६ सम्म पनि हामीले आफ्नै आन्तरिक स्रोतबाट खुवाइरहेका छौं,’ उनले भने,
प्रावि शिक्षकले पढाउँछन् ११ र १२ लाई
माध्यमिक तह र निम्न माध्यमिक तहको नियमवाली अनुसारले दिनुपर्ने शिक्षक पनि छैनन् विद्यालयमा।
सरकारले शिक्षक नदिएकाले प्राथमिक तहको शिक्षकहरूलाई नै अनुरोध गरेर उच्च माविको विद्यार्थीलाई पढाउने गरेको उनले हाकाहाकी स्वीकारे।
‘दुःख सुख गरेर विद्यार्थीहरूलाई पढाइ त रहेका छौं तर, पर्याप्त शिक्षक भने छैनन्। विद्यालय व्यवस्थापनले मिलाएर गर्नु परिरहेको छ’ उनले दाबी गरे।
विद्यालयमा अहिले जम्मा २२ जना शिक्षक छन्। निजी स्रोतमा २ जना। त्यसैगरी प्रविधि मैत्री कक्षाकोठा बनाउने कुरा भइरहे पनि शिक्षकहरूलाई नै प्रविधिमैत्री हुन चुनौती भएको उनले स्वीकारे।
वरीपरी छन् विद्यालय तर हुँदैन समायोजन
उकेराकर्मीसँग मंगलादेवीका प्रधानाध्यापकले प्रारम्भमा विद्यालयमा कुनै समस्या नभएको र भवन राम्रो भएको दाबी गरिरहनुको कारण कतै विद्यालय मर्ज गरिदिन्छन् कि भन्ने भय रहेछ।
भौतिक अवस्था विद्यालय सञ्चालन अनुकुल छैन न त वातावरण नै विद्यार्थीमैत्री छ। शिक्षक पर्याप्त छैनन्। विद्यालय भवन व्यापारिक रूपमा भने महत्त्वपूर्ण स्थानमा छ। पूरै भवनलाई व्यापारिक प्रयोजनमा प्रयोग गरेर विद्यालयका लागि आवश्यक भौतिक पूर्वाधारसहितको अर्को भवनमा सर्ने वा नजिकैको अर्को विद्यालयसँग समायोजन हुन नसकिने हैन।
तिलगंगाअगाडि धर्दा मावि छ। सिनामंगलमा गुह्यश्वरी र सिफल चौरमै बाल व्यवसायी विद्यालय छ। तिलगंगामा शारदा मावि छ। यीमध्ये जुनसुकै विद्यालयले पनि मंगलादेवीको तीन सय हाराहारीका विद्यार्थी धान्न सक्छन्। सो भवनबाट हुने आम्दानीबाट शैक्षिक वातावरण सुधार्न खर्च गर्न सकिन्छ।
तर विद्यालय व्यवस्थापन समिति होस् या प्रधानाध्यापक, विद्यालय नजिकैको अर्को विद्यालयमा समायोजन गर्ने पक्षमा छैनन्। उनीहरू आफ्नो मात्र नभएर कुनै पनि सामुदायिक विद्यालय मर्ज हुन नहुने बताउँछन्।
‘सामुदायिक विद्यालय मर्ज गर्नु भनेको निजी विद्यालयलाई प्रश्रय दिनु हो। सामुदायिक विद्यालय मर्ज गर्यो भने गरिब बालबालिका पढ्ने ठाउँ कहाँ हो त?,’ उनले तर्क गरे।
तर उनले आफ्नो विद्यालयका विद्यार्थीलाई खेल्न लैजाने सिफल चौरमै अर्को विद्यालय रहेको बिर्सिए, जसको दुरी मुस्किलले एक किलोमिटर होला।
मुख्य आन्तरिक स्रोत ‘सटर भाडा’
यस विद्यालयको मुख्य आन्तरिक स्रोत यहाँको सटर भाडा हो। विद्यालय भवनको तल्लो तला सबै भाडामा छ। जम्मा १२ वटा सटर रहेकोमा ११ वटा भाडामा छ।
एउटालाई भने निर्माण सामग्रीको स्टोर रुमको रुपमा रखिएको छ। त्यसको लागि व्यवस्थापन समितिले निर्णय गरेर चलनचल्तीको भाडालाई विचार गरेर र अहिले भइरहेको पुरानो बहालवालाहरू पनि विचार गरेर मध्यम खालले भाडादर तोकिएको उनले बताए।
सटर भाडाबाट मात्र लगभग वर्षमा ४१–४२ लाख आम्दानी हुने उनको भनाइ छ। उक्त भाडाबाट पनि विद्यालयको भौतिक संरचनामा सुधार आएको समेत उनी बताउँछन्।
पहिला सटर थिएन। पछि सटर बनाएर विद्यालयको कोठा भाडामा दिइएको हो। ०६२/०६३ सालदेखि सटरको भाडा उठाउँदै आएकोमा विद्यालयको भवन पनि मर्मत गरिँदै लगेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयन्त सुब्बाले बताए।
पुष १८, २०७९ सोमबार ०८:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।