लोकमाया लिम्बुको प्रसव पीडा र खुसीः घरैमा बच्चा जन्माइन्, नाभि काटिन् अनी नुहाइदिइन्
तेह्रथुम जिल्लामा जन्मिएकी लोकमाया लिम्बु, गृहिणी हुन्। ढाकाको कपडा बुन्न सिपालु उनको पहिले यसैको व्यवसाय थियो। अहिले भने उनी दिनभर घरमै बस्छिन्। व्यक्तिगत कारणले राम्रो चलिरहेको ढाका व्यवसाय थन्क्याएकी उनी अब भने अन्य महिलाहरूलाई ढाका बुन्न सिकाउने योजनामा छिन्। ४ वर्षअघि देखि श्रीमानसँग छुट्टै बसेकी लोकमाया ६ सन्तानकी आमा हुन्। अन्य महिला भन्दा बिलकुलै फरक प्रसव पीडा र खुसी अनुभूत गरेकी उनै लोकमाया लिम्बुले उकेरासँग आफ्ना अनुभूतिहरू यसरी साटिन्ः
म त्यस्तै ८ कक्षामा पढ्दा होला, काठमाडौंबाट मास्के थरको सर पढाउन जानुभएको थियो। हामी त्यो समयमा काठमाडौंलाई नेपाल भनेर सम्बोधन गथ्यौं। त्यो मास्के सर अग्लाे, गोरो, निकै हेन्डसम थियो। धनकुटा जाँदा एउटा नेवार केटी पनि भेटेकी थिएँ, उनी पनि बिछट्टै राम्री थिइन्।
त्यसैले मेरो मनमा नेपाल (काठमाडौं) का नेवारहरू सबै राम्रा हुँदा रहेछन्, म पनि त्यहीं जान पाए हुन्थ्यो, नेवारको संस्कार संस्कृति थाहा पाउन अनि उनीहरूको नजिक बस्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो। नेवारलाई हेर्नै मात्र भएपनि काठमाडौं आउन मन थियो।
१० कक्षा पढेपछि एसएलसी दिनुपर्ने। नेपालमा एसएलसी कटाउनै मुस्किल पर्थ्यो। त्यसैले मेरा साथीहरूले नेपालबाट भन्दा भारतबाट एसएलसी पास गर्न सजिलो हुन्छ भन्ने कुरा गरे। म पनि उनीहरूकै लहैलहैमा भारतको पटना गएँ।
नभन्दै नेपालको एसएलसी अर्थात् फलामे ढोका भारतबाट सजिलै पास गरियो। नेपाल आएपछि इको ब्यालेन्स कि के बिर्सें, त्यो गरेर उच्च शिक्षा पढ्न पाइन्थ्यो तर मैले गरिंन। मसँगै भारत गएर एसएलसी पास गरेका साथीहरू अहिले प्राय: उच्च ओहोदामा पुगेका छन्, कोही शिक्षक छन् त कोही सरकारी जागिरे।
अहिलेका बच्चाहरूलाई अप्सन धेरै छ। उनीहरू सानैदेखि डाक्टर, नर्स, पाइलट, इन्जिनियर बन्ने सपना देख्न पाउँछन्। तर हामीले त्यस्तो सपना देख्न पाएनौं। हामीले देख्ने सपना भनेको शिक्षक बन्ने भन्नेसम्म हुन्थ्यो। ती अप्सन हामीलाई पनि भइदिएको भए म चिकित्सक बन्थें होला। नभए एलन मस्क जस्तो वैज्ञानिक बन्थें होला।
तर हाम्रो समयमा पढेपछि बिहे गर्ने भन्ने मात्रै भयो। त्यसैले भारतबाट एसएलसी पास गरेपछि मैले पनि बिहे गरें। ६ कक्षा पढ्दा सामाजिक पढाउने सरले लाहुरे गतिला हुँदैनन् भनेका थिए। बसाइँ भन्ने उपन्यासमा पनि रिकुटे भन्ने लाहुरे छ, जो जाली छ। त्यही भएर जिन्दगीमा लाहुरेसँग बिहे नगर्ने सोच र योजना थियो तर सोचेजस्तो नहुने रहेछ। मेरो बिहे लाहुरेसँगै भयो।
मेरो बिहेको कथा फेरि अरूको भन्दा फरक छ। धेरैले यस्तो कुरा जता पायो त्यता नगर् भन्छन् तर मलाई भने मनपेट खोलिहाल्नुपर्ने। हाम्रो तेह्रथुमतिर जात्रा, महोत्सव धेरै हुन्छन्। तपाईंले नुमाफुङ भन्ने फिल्म हेर्नुभएको छ भने त्यहाँ देखाएको कुरा शत्प्रतिशत सही हो।
हाम्रोमा हजुरआमाहरू समेत भर्खरको तन्नेरीसँग मजाक गर्छन्। मेरो लाहुरेको नाम डिबी। बिहे अगाडि नै मैले लाहुरेको पेट बोकेछु। बिहे गर्ने भनेपछि नै सम्बन्ध भएको हो हुन त। तर, बिहे हुनु अघि नै म गर्भवती भएको हो।
यदि बाहुन क्षेत्रीको घरमा मेरो जस्तो घटना घटेको भए कस्तो हुन्थ्यो होला? तर हाम्रो लिम्बु समुदायले यसलाई सहज रुपमा लिन्छ, लियो। लाहुरेसँग बिहे गरेपछि पो थाहा भयो, उसको त पहिल्यै अर्को घरबार रहेछ। तर त्यसमा सम्बन्ध बिग्रिएर मलाई ताकेको रहेछ। पहिल्यै बुद्धि बिगारेकाले मैले उसँग बिहे गर्नपर्याे।
श्रीमान् लाहुरे, जग्गा जमिन भएको घर। घरमा जेठाजु जेठानी छुट्टिसकेका, सासु ससुराको मृत्यु भइसकेको। श्रीमानको पहिलो श्रीमातीसँग विचार नमिलेर अलग बसेका तर सम्बन्धविच्छेद भने पछि मात्रै भयो।
घरमा म एक्लै। मेरो लाहुरे (श्रीमान्) घरमा कमै बस्ने। हामी लिम्बुको त फेरि बिहे मात्रै भयो भनेपनि पाँच दिन लाग्छ। जता गयो उतै भुल्ने लाहुरेको बानी। त्यसैले गर्भावस्थामा म एक्लै नै भएँ। साना केटाकेटी खेल्न घरमा आउँथे, त्यत्ति हो।
बच्चा पेटमा आएपछि सजिलै खान पाइने, घिउ, भात तरकारी मन पर्थेन। जे खान पाइँदैन त्यही मात्रै मन पथ्र्यो। नखाने अप्सन थिएन। गाउँमा भएपछि काम गर्नुपथ्र्याे। जंगल गएर घाँस काट्नेदेखि बस्तुभाउ पाल्नेसम्मको काम गर्थें।
कुखुरा त कति थिए कति। त्यही एक्ससाइजले हो या के हो, बच्चा जन्माउने समयमा १० मिनेट जति मात्रै कडा व्यथा लाग्यो। अनि त मैले बच्चा जन्माइहालें। मैले बच्चा जन्माउँदा साथमा कोही थिएनन्।
आफूलाई चिकित्सामा पनि चासो भएकाले बच्चाको नाभि कसरी काट्नेदेखि सबै थाहा थियो। घरमा आफैले बच्चा जन्माएपछि नाभी काटें। ठूलो ताउलोमा पानी तताएँ अनि बच्चालाई नुहाइदिएँ। आफूले पनि सफा भएर कपडा फेरें। बच्चा जन्मेपछि मज्जासँग भोक लाग्यो, बासी भात थियो, तताएर एक मानो घिउ खन्याएर खाएँ। पहिलो सन्तान छोरी जन्मिइन्।
जेठी छोरी जन्मेपछि लामो समयसम्म महिनावारी भएन। करिब ८ महिनापछि कटक्क पेट काटेर रगत बग्यो। बल्ल महिनावारी भएँ भनेर सोचेको, भोलीपल्ट झनै बेस्मारी पेट दुख्यो। पिसाब गर्ने ठाउँबाट रगत सहित ठूलो जालोले बेरिएको डल्लो खस्यो। यसो काठले कोट्याएर हेरेको त्यो त बच्चा रहेछ।
जालोले बेरिएको बच्चा जन्मेपछि बल्ल म फेरि गर्भवती भएछु र बच्चा तुहिएछ भन्ने थाहा पाएँ। महिनावारी नै नभइ बच्चा बस्ला भन्ने नै लागेन।
त्यसरी बच्चा तुहिएको केहि समयमै म फेरि गर्भवती भएँ। म बच्चा पेटमा हुँदा समेत सधैं सक्रिय मान्छे। पहिलो बच्चा जस्तै, ६ ओटा बच्चाहरू एक्लै जन्माएँ, एक्लै हुर्काएँ। पाँचवटा छोराछोरी बर्षौटे भए। एउटा बच्चा भने धेरै पछि २०७२ सालमा जन्माएँ।
किन ढिला भन्नुहोला, आमा छिप्पिएपछि बच्चा एकदम बाठो र ट्यालेन्ट जन्मन्छ भन्ने सुनेको थिएँ। त्यसैले चेक गर्न जन्माएको। नभन्दै कान्छी छोरी एकदम बाठी छन्। अहिले उनी आठ वर्षकी भइन्।
बर्षौटे बच्चा जन्माउनुको पनि कारण छ। एउटा तुहिएको समेत गरेर चारवटा बच्चा जन्माएपछि मेरो लाहुरे (श्रीमान्) ले अब बच्चा पुग्यो भन्ने जस्तो कुरा गरेको थियो। त्यसैले स्वास्थ्य चौकीमा गएर संगिनी सुई लगाएँ। सुई पछाडि बममा लगाउने रहेछ, त्यो लगाएपछि बस्नै नमिल्ने।
मलाई त संगिनी सुई लगाउन भन्दा बच्चा जन्माउन सजिलो लाग्यो। रगत धेरै बग्ने, तल्लो पेट दुख्ने गरेर मर्नु भयो। त्यसपछि लगाइन। सुई नलगाएपछि बच्चा त बर्षैपिच्छे जन्मने भइहाल्यो। एक दशक त मेरो काम नै बच्चा जन्माउने भयो। तर बच्चा जन्माउने काम बाहेक घरको काम पनि गर्थें है।
हाम्रो लिम्बुहरूको सुत्केरी बार्ने भनेको जम्मा ४ दिन। एकपटक के भयो भने, पेट कटक्क काट्यो र माथि तलामा गएर बच्चा जन्माएँ। आफैले नाभि काट्नेदेखि सबै काम गरें। सरसफाई गरेर सकेको मात्रै थिएँ, गाउँको एक टोली मेरोमा जाँड माग्न आयो। गाउँकै सबैभन्दा मिठो जाँड पाउने ठाउँ पनि मेरै घर थियो।
अहिले दिन सक्दिन, पछि आउ भनेको मान्दै मानेन। म सुत्केरी भएँ, बार्नुपर्छ पनि भन्न सकिन। अनि सबैलाई जाँड बनाएर दिएँ। मिठो मानेर खाए। ४ दिनपछि आएर यसरी सुत्केरी भएको बेलामा जाँड खुवाउने भनेर निउ खोज्छ। दिन्न भन्दा आफै जर्बजस्ती माग्ने अनि अहिले त्यसो भन्न मिल्छ भनेपछि बल्ल फर्कियो।
सुत्केरी भएपछि कुखुरा काटेर खानेदेखि भैंसी दुहुनेसम्म आफैले गरें। घरमा कोही नभएपछि आफैले गर्नुपर्ने रहेछ। एउटा भैंसी थियो, मलाई बाहेक अरूलाई दुधै दिन्थेन। अनि म आफै दुन्थें, तताउँथे, घिउ निकाल्थें र मही भैंसीलाई नै दिन्थें। घिउ त म आफै जति पनि खाने भइहालें।
२०६० सालमा हामी काठमाडौं आयौं। जेठी श्रीमतीसँग श्रीमानको सम्बन्ध विच्छेद भएको थिएन, त्यसैले उनले मुद्धा हालिन्। मैले आफैले मेहेनत गरेर कमाएको सम्पत्ति पनि उनले नै लगिन्। ४ वर्ष भयो श्रीमानसँग मेरो पनि सम्बन्ध विच्छेद भएको।
खै किन हो, म अरूभन्दा फरक भएँ। यतिसम्म कि, मसँग पुराना फोटो समेत छैन। अहिले पुराना फोटो खिचेर राखेको भए छोराछोरीको बाल्यकाल हेर्न पाउने रहेछु भन्ने लाग्छ, तर त्यो समयमा मलाई वर्तमानमा बाँच्ने हो जस्तो लाग्ने। अहिले पनि म आफै ओर्जिनल छु, फोटो किन चाहियो भन्ने लाग्छ।
मेरो ४ छोरी र २ छोरा छन्। जेठी छोरीले गोर्खाको केटोसँग बिहे गरेकी छन्। कान्छी छोरी मसँगै छिन्। अरू ४ छोराछोरी युके गएका छन्।
पुष १७, २०७९ आइतबार २०:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।